काठमाडाैं- नेकपा (माओवादी केन्द्र) ले पार्टी परित्याग गर्दै नेकपा एमाले प्रवेश गरी प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री बनेका टंक आङबुहाङलाई सांसद पदबाट हटाउने निर्णय गरेको छ। मन्त्री बनेको १० दिनपछि आङबुहाङलाई माओवादी केन्द्रले प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको पत्र प्रदेश १ को प्रदेशसभामा पठाएको छ।
माओवादी केन्द्र त्याग गरेको भन्ने विषयमा पार्टीले स्पष्टीकरण माग्दा तोकिएको समयभित्र स्पष्टीकरण नदिएकाले उनीमाथि पार्टीले कारबाही गरेको पत्रमा उल्लेख छ। साथै, आङबुहाङलाई पार्टीले साधारण सदस्यतासमेत नरहने गरी निष्काशन गरेको छ।
माओवादी केन्द्र प्रदेश १ को प्रदेशसभा संसदीय दलको सिफारिसअनुसार उनलाई पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो।
चैत १३ गते आङबुहाङ एमाले प्रवेश गरेर प्रदेश १ सरकारको आर्थिक मामिलामन्त्री बनेका थिए। फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी पार्टी ब्युँताउने फैसला गरेपछि उनी एमालेतिर लागेका थिए।
आङबुहाङलाई चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टीकरण सोधेको थियो। पार्टीले यसरी कारबाही गरेपछि उनको मन्त्री पद अब ६ महिनामात्र कायम रहने छ। सांसद नभएको व्यक्तिले बढीमा छ महिनामात्रै मन्त्री बन्न पाउने प्रावधान संविधनमा रहेको छ। तत्कालीन नेकपा संसदीय दलका उपनेता रहेका आङबुहाङ ताप्लेजुङ ‘ख’ बाट निर्वाचित भएका थिए।
माओवादी केन्द्रबाट निर्वाचित भएका उनले नेकपा भएपछि उपनेताको जिम्मेवारी पाएका थिए। नेकपा विवादमा प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि केही मन्त्रीले राजीनामा दिएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।