काठमाडौं- नेकपा माओवादी केन्द्रकी सांसद् शशी श्रेष्ठले सरकारले संसद्लाई बिजनेस नदिएर संसद्को काम छैन, काम गर्न सक्दैन भन्ने सन्देश दिन खोजिएको बताएकी छिन्। सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै श्रेष्ठले त्यो सन्देश केका लागि दिन खोजिएको हो? भन्ने प्रश्न गरिन्।
'सरकारले बिजनेस नदिने अनि संसद् बिजनेसविहीन भएर अगाडि बढ्न नसक्ने अनि ताजा जनादेशबाट अर्को संसद्ले पनि यस्तै खालको गतिविधि गर्ने हो भने मुलुक अगाडि बढ्न सक्छ?,' श्रेष्ठले सोधिन्।
श्रेष्ठले गत पुस ५ गते संविधानविपरीत, अलोकतान्त्रिक र स्वेच्छाचारी एवं गैरजिम्मेवारीपूर्ण ढंगबाट संसद् विघटन भएको स्मरण गरिन्। 'सम्पूर्ण नेपाली जनताको प्रयासबाट, यो असंवैधानिक हो, अर्काको देशको नजिर यहाँ दिने होइन, हाम्रो आफ्नै देशको मौलिकतामा यो सबै हुनुपर्दछ भनेर संसद् पुनःस्थापना भयो। त्यसपछि फागुन २३ गतेबाट सदन चलिरहेको छ। बैठक शोक प्रस्ताव पारित गर्ने, सामान्य प्रतिवेदन प्रस्तुत गर्नेमै अल्झिरहेको छ,' श्रेष्ठको भनाइ छ।
उनले संसद् पुनःस्थापना भएर मात्रै नपुग्ने बताइन्। 'संसद् बोलाउनुमात्रै सबै कुरा होइन। संसद् बोलाउनु भनेको संसद् चलाउनु पनि हो। संसद् चलाउनका लागि सरकारले अहिले बिजनेस दिइरहेको अवस्था छैन,' उनले भनिन्।
संसद् चल्नका लागि सरकार नै अग्रसर हुनुपर्ने श्रेष्ठको भनाइ थियो। 'अहिले पनि राष्ट्रियसभा र प्रतिनिधिसभामा गरेर ५५ वटा विधेयक छ,' उनले भनिन्, 'त्यतिमात्रै होइन। अध्यादेशहरु पनि ल्याइएका छन्। सुरुका दिनमा अध्यादेश सम्बन्धमा केही विमति भयो। त्यो संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा मात्रै विरोध भएको थियो। नीतिगत रुपबाट भन्दा मुलुक अध्यादेशबाट चलाउने होइन। संसद् नचलेको बेलामा मुलुकलाई अत्यन्तै आवश्यक पर्छ भने अध्यादेश ल्याउनसक्ने संवैधानिक प्रबन्ध छ। ल्याउन सकिन्छ। नसकिने होइन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।