काठमाडाैं- पूर्वमन्त्री तथा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट सांसद गोकुल बाँस्कोटाले सरकारले गरेका विकास देख्न नसक्नेलाई कानमा रुई र आँखामा साउने चश्मा लगाउन सुझाव दिएका छन्।
प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोलेका सांसद बाँस्कोटाले सरकारले एक क्षेत्रमा मात्रै नभई बहुआयामिक विकास अजेण्डामा कार्य गरेको दाबी गरे। ‘जनता हाँस्नेगरी पूर्वाधारमा सरकारले ध्यान दिएको छ,’ उनले भने। तथ्यभन्दा बाहिरबाट सरकारले गरेका कार्यको टिप्पणी भएकोप्रति उनले रोष प्रकट गरे।
मेलम्ची आएको र रेलमार्ग बनिरहेकोप्रति उनले प्रसन्नता व्यक्त गरे। ‘रेलमार्ग बन्दै नबनेको हो र? बाजुराको टुप्पोमा अहिले नै रेल जान्छ कसैले भनेको छैन,’सरकारका विरोधीलाई उनले जवाफ फर्काए,‘किसुनजीले देखेको सपना ३० वर्षपछि आउँदा हामी सबै खुसी हुने, त्यसलाई पूरा गर्ने केपी ओली। र, ३० वर्षै लागोस् न त रेल आउन।’ यसलाई पनि विकास नदेख्ने हो भने राजनीतिक दलको विकास र राजनीतिको अजेण्डा के हो? भनी उनले प्रश्न गरे।
१६५ निर्वाचन क्षेत्रमा रणनीतिक सडक बनाउँदा पनि विरोध गर्नेहरु दु:खी आत्मा भएको उनले संज्ञा दिए। अजेण्डाविहीन नेतृत्वले मुलुकका निम्ति योगदान गर्न नसक्ने बताएका बाँस्कोटले विकासले जनता दंग भएको बताए। ‘जनता दंग, नेताहरु भरंग किन भएको? यो कस्तो ऐठन हो?,’ अन्य दललाई उनको प्रश्न थियो।
सरकार कामचलाउ नभएको उनले दाबी गरे। माओवादी केन्द्रप्रति संकेत गर्दै उनले किन फिर्ता नलिएको भन्दै प्रश्न तेर्साए। माओवादी केन्द्रलाई उनले भने,‘समर्थन आफू गर्ने, फिर्ता गर्न नसक्ने। अजेण्डा प्रस्तुत गर्न नसक्ने। अनि कामचलाउ भन्ने?’
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कार्य उपयुक्त निर्णय भएको उनले दोहोर्याए। ताजा जनादेशको विकल्प नभएर संसद् विघटन गर्नुपरेको उनले बताए। ‘जनताका बीचमा जाँदा प्रतिगमन हुन्छ?,’ उनले भने। केही दललाई चुनाव देख्नेबित्तिकै 'चुनाव फोविया' हुने गरेको उनले टिप्पणी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।