दशैंको पूर्व सन्ध्यामा मध्याह्न १२ बजेको चर्को घाममा भृकुटीमण्डपस्थित पर्यटन बोर्ड पुग्दा उनलाई फलफूल बेच्नको भ्याईनभ्याई थियो। कपाल सेतै फुलेका अमेरिका प्रसादले फलफूल काटेर भाग लगाएर बेच्ने थालेको दुई वर्ष भइसक्यो। उनी काठमाडाौं आएको भने ३५ वर्ष भइसकेको उनले सुनाए।
सुरुका ३३ वर्ष उनले पान बेचेर बिताए। पान बेचेर पनि राम्रै कमाई गरेको थिए उनले। उनी सुरुमा काठमाडौ आउँदा जम्मा १८ वर्षका थिए। खाने, लाउने, डुल्ने उमेरमै उनले पानको व्यापार गर्न थालेका हुन्।
धेरै पैसा कमाउने रहर र जिम्मेवारी दुवै थियो उनमा। तर धेरै पढेका भने थिएनन्। ८ कक्षामा पढ्दै गर्दा आमाबुबाले बिहे गदिएपछि उनमा जिम्मेवारी थपियो। त्यतिबेला सबै साथी काठमाडौं आएर धेरै पैसा कमाउने गर्थे। उनमा पनि पैसा कमाउने रहर जाग्यो र साथीहरुसँगै काठमाडौं आउने निणर्य गरे। बाबु आमालाई बताएर उनी काठमाडौ आए। व्यापार गर्न र पैसा कमाउन सुरु गरे। ‘किस्मत’ले पनि साथ दिएकाले फाल्टु बस्न नपरेको उनले बताए ।
उनी बिहानै उठेर फलफूल ल्याउने साफ गरेर काट्ने गर्छन्। विशेष गरी मेवा, भुइँकटहर काक्रो काटेर बिक्री गर्ने उनले एक हजार रुपैयाँको लगानीबाट यो व्यवसाय सुरु गरेका थिए। फलफूल बेच्न थालेको पहिलो दिन नै ५ सयको रुपैयाँ फाइदा भएको उनले सुनाए ।
‘दिनमा २/३ हजारको व्यापार हुन्छ । व्यापारको हिसाबले १२ सयदेखि २ हजार सम्म लगानी लाग्छ । दैनिक ८ सयदेखि १२ सयसम्म कमाई हुन्छ,’ उनले भने ।
बिहानको खाना उनी होटलमै खान्छन्। राती भने साथीहरुसँग मिलेर डेरामै बनाएर खाने गरेको उनले बताए । उनी बागबजारमा तीनजना साथीसँग ४ हजारको कोठामा बस्दै आएका छन। फलफूल बेचेरै ६ जना छोराछोरी पढाएर ८ जनाको परिवार पालेका छन्। ३ छोरा र ३ छोरी छन् उनका। श्रीमतीले घरको खेतीपाती हेर्छिन्। ‘अरु सबै मैले नै हेर्ने हो खेती किसानीले ६ महिना पनि खान पुग्दैन,’ उनले भने।
धेरै घाम लागेको बेला काटेको फलफूल बढी बिक्रि हुन्छ भने पानी परेको बेला उनको व्यापारमा असर पर्छ । फलफूल भृकुटीमण्डप वरीपरी घुमाएर बिक्री गर्छन् उनी। ‘म ३५ वर्षदेखि यही ठाउँमा व्यपार गरिरहेको छु। पहिले पान बेच्थें, अहिले फलफूल,’ उनले भने।
सँगै बस्दै आएका साथीहरु सबैले फलफूल बेच्ने भएकाले आफूमा पनि यसैको व्यापार गर्ने सोच आएको उनले बताए। त्यसपछि साथीहरुसँग सल्लाह गरेर उनी फलफूल मन्डी पुगे। आफ्ना पान खाने ग्राहककोमा गएर फलफूल बेच्न सुरु गरे उनले। त्यसदिन दिउँसै उनले ल्याएका फलफूल सकिए। त्यसपछि उनी हौसिएका हुन्।
उनी ३–४ महिनामा एकपटक घर जान्छन्। छठ पर्व मान्न भने उनी सधै घर जान्छन् दशैको बेला काठमाडौमा त्यती व्यापार नहुने उनले सुनाए। व्यापार कमै भएपनि उनी घर नजाने बताउँछन्।
कहिलेकाही भने उनको सबै सामान सकिँदैन। अर्को दिनसम्म राख्दा बिग्रिने भएकाले फाल्नुपर्छ । यस्तोमा समेत घाटा लगानीसम्म उठ्ने भएकाले घाटा नै व्यहोर्नुनपर्ने उनको भनाई छ। बचेको फलफूल आफैले खाए हुँदैन ? भन्दा उनले भने, ‘कति खाने फलफूलमात्रै । दिउँसो पनि भोक लाग्यो भने फलफूल नै खाइन्छ। डेरामा बस्ने सबै साथीहरुले फलफूलकै व्यापार गर्ने भएकाले त्यसप्रति धेरै चाख हुँदैन।’
उनी बिहानै उठ्छन्। सबै साथी मिलेर पैसा जम्मा गर्छन् र एकसाथ किन्न जान्छन्। यसो गर्दा सस्तो पनि पर्छ।
धेरै नपढेकाले ठूलो व्यापार गर्ने आँट नभएको र लगानी पनि धेरै चाहिने उनले बताए। ‘आफूलाई आउने काम यही हो । यसको लागि ठूलो लगानी पनि गर्नुपर्दैन त्यसैले सानोतीनो व्यापार गरेरै गुजारा गरिराखेको छु,’ उनले भने, ‘अहिलेसम्म खान लाउनकै दुःख परेको छैन।’
धेरै घामलाग्दा व्यापार त बढी हुन्छ तर बेलुका टाउको दुखेर फुट्लाजस्तै हुन्छ उनको। तर अहिलेसम्म अस्पताल नै जानचाहिँ नपरेको उनले बताए । ‘टाउको धेरै दुखेको बेला पसलबाट औषधी किनेर खान्छु, अस्पताल नै जानुपरेकोचाहिँ छैन,’ उनले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।