काठमाडाैं- नेकपा एमाले (ओलीपक्ष)ले प्रदेशका सहइन्चार्ज थपेको छ। चैत ७ मा बसेको बैठकमा सार्वजनिक भएका नाममा थप गरी अन्तरपार्टी निर्देशन जारी गरिएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले चैत १३ मा जारी गरेको अन्तरपार्टी निर्देशनमा सहइन्चार्ज थपिएको छ। प्रदेश १ को सहइन्चार्जमा छ जनालाई स्थान दिइएको छ। लालबाबु पण्डित, भानुभक्त ढकाल, शेरधन राई, गुरु बराल, टङ्क आङ्बोहाङ (लिम्बू) राजेन्द्र गौतमलाई सहइन्चार्ज बनाइएको छ। प्रदेश १ मा सबैभन्दा बढी सहइन्चार्ज बनाइएको छ। आङ्बोहाङ पूर्वमाओवादी पक्षबाट एमाले प्रवेश गरेका हुन्।
प्रदेश २ को सहइन्चार्जको जिम्मेवारी कानुनमन्त्री लीला श्रेष्ठलाई दिइएको छ। सात प्रदेशमध्ये एकल व्यक्ति सहइन्चार्ज बन्ने अवसर श्रेष्ठले पाएका छन्। बागमती प्रदेशमा काशीनाथ अधिकारी, शेरबहादुर तामाङ र कृष्णगोपाल श्रेष्ठलाई सहइन्चार्ज बनाइएको छ। श्रेष्ठलाई उपत्यकाको विशेष जिम्मेवारीसमेत दिइएको छ।
गण्डकी प्रदेशमा तीन जनाले सहइन्चार्जको जिम्मेवारी पाएका छन्। किरण गुरुङ, पदमा अर्याल र लिलबहादुर थापामगरलाई उक्त जिम्मेवारी तोकिएको छ। थापामगर पूर्वमाओवादीका हुन्। लुम्बिनी प्रदेशमा चार जना सहइन्चार्ज बनेका छन्। मणि थापा, दलबहादुर राना, वैजनाथ चौधरी, गिरधारीलाल न्यौपाने सहइन्चार्ज बनेका छन्। थापा र न्यौपाने पूर्वमाओवादी हुन्।
कर्णाली प्रदेशमा लक्ष्मी पोखरेल र गुलाबजङ्ग शाह सहइन्चार्ज बनेका छन्। सुदूरपश्चिममा गणेश ठगुन्ना र नारदमुनी राना सहइन्चार्ज बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।