काठमाडौं–कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई सर्वश्वसहित जन्मकैदको सजाय सुनाइएका निलम्बित सांसद रेशम चौधरीको रिहाइकाे माग राखी आन्दोलनमा उत्रिएको संघर्ष समितिले सरकारी वार्ता टोलीसँग गृहमन्त्रालयमा छलफल गरेको छ।
थारु कल्याणकारी सभा र थरुहट/थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ता टोलीले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीसँग मंगलबार गृहमन्त्रालयमा छलफल गरेको हो।
सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र पूर्व सासंद भगवती चौधरी सदस्य छन्। थरुहटका तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदम नारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी सहभागी वार्ता टोली छ।
टीकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरी लगायत माथि लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थरुहट आन्दोलनको क्रममा मारिएकालाई सहिद घोषणा गर्नुपर्ने, लोकसेवा आयोगलगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने सहितका १९ बुँदे माग राखेर केही दिनदेखि उनीहरु आन्दोलनमा छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।