काठमाडौं- कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेता नवीन्द्रराज जोशीको निधनबाट देशले असल र कुशल नेता गुमाएको बताएका छन्। जोशीको शुक्रबार साँझ काठमाडौंस्थित नर्भिक अस्पतालमा निधन भएको हो।
‘तपाईंको आत्मालाई शान्ति मिलोस् स्वर्गमा। देशले आज एक असल र कुशल नेता गुमाउनुपरेको छ’, प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन्।
अस्पतालमा करिब एक महिना बिताएपछि कांग्रेस नेता नवीन्द्रराज जोशीको मृत्यु भएको हो। गत फागुन १४ गते बिहान बाँया हात र खुट्टा बाउँडिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो। अस्पताल आउँदासम्म बोलिरहेका उनी त्यसपछि भने बेहोस भएका थिए। वीरका डाक्टरले सिटी स्क्यान गर्दा टाउकोमा रगत जमेको देखिएपछि थापाथलीस्थित नर्भिक अस्पताललमा रिफर गरिदिएका थिए।
राति नर्भिक पुग्दा उनी लगभग कोमामा पुगिसकेका उनको उपचारको नेतृत्व गरेका न्युरो सर्जन राजीव झाले सोही दिन अपराह्न पत्रकार सम्मेलनमार्फत जानकारी गराएका थिए। ‘राती साढे ३ बजे नर्भिकमा आइपुग्दा उहाँ कोमामा हुनुहुन्थ्यो,’ डा झाले भनेका थिए, ‘श्वास फर्ने गाह्रो भइरहेको थियो, वान्ता भएर वान्ता उहाँको फोक्सोमा पुगेको अवस्था थियो।’
डा झाका अनुसार नेता जोशीलाई नर्भिक अस्पतालमा श्वास फेर्न सहज होस् भनेर आकस्मिक उपचार प्रक्रिया अगाडि बढाइएको थियो। घाँटीबाट वान्ता भएको वस्तु निकालिएको थियो। नर्भिक अस्पतालमा आइपुग्दा नै नेता जोशीको आँखाको दुवै नानी फुलिएको पाइएको पनि उनले बताएका थिए। उनले नर्भिक अस्पतालमा पनि फेरि सिटिस्क्यान गरिएको र सो रिपोर्टमा टाउकोमा पानी जमेको पाइएको पनि बताएका थिए।
नेता जोशीले सुगर, प्रेसरको समस्या भएको र रगत पातलो हुने औषधि सेवन गरिरहेकाले शल्यक्रिया गर्दा रगतश्राव कन्ट्रोल नहुने भएकाले विशेष व्यवस्था गरेर सर्जरी गरिएको डा झाले बताएका थिए। उनले जोशी जस्ता बिरामीलाई बचाउन सक्ने सम्भावना ३० प्रतिशत मात्रै हुने जानकारी गराएका थिए।
उपचारको क्रममा एक समय जोशीको स्वास्थ्यमा क्रमिक सुधार हुनथालेको थियो। तर त्यो निरन्तर रहन सकेन। बरु स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो।
उनको उपचारका लागि सरकारले दश लाख दिने घोषणा गरेको थियो। तर उनको परिवारले त्यसलाई अस्वीकार गरिदिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।