काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बालुवाटारमा बोलाएको एमाले संसदीय दल र केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएको छ।
शुक्रबार बानेश्वरमा बसेको नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूले बैठकले ओलीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको हो।
केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लंघन गरेको भन्दै नेपाल पक्षले उक्त दिनको निर्णय खारेज नभएसम्म ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुने निर्णय भएको एमाले प्रचार विभाग सचिव विष्णु रिजालले बताएका छन्।
यस्तै, बैठकले बालुवाटारमा शनिबार नै बोलाइएको संसदीय दलको बैठकमा समेत सहभागी नहुने निर्णय गरेको छ। विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यसपटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएको माधव पक्षको बुझाइ छ।
बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त अजेण्डा र प्रक्रिया अवलम्बन गरिएमा विचार गर्ने तर, बालुवाटारमा बोलाएको बैठकमा सहभागी नहुने निर्णय भएको रिजालले बताएका छन्।
ओलीले शनिबार बिहान साढे १० बजे संसदीय दलको बैठक राखेका छन् भने त्यसपछि केन्द्रीय कमिटीको बैठक बस्ने तय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।