फाइल तस्बिर।
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल एयरलाइन्सको जहाज चार्टर गरेर बंगलादेशको राजधानी ढाका जाने भएकी छन्।
बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको निम्तोमा सोमबार बिहान बंगलादेशको राजकीय भ्रमणमा जान लागेकी राष्ट्रपति भण्डारीका लागि नेपाल एयरलाइन्सको एयरबस ३२० जहाज चार्टर गरिनेछ।
बंगलादेशका राष्ट्रपिता शेख मुजीबर रहमानको शतवार्षिकीमा सहभागी भएर राष्ट्रपति भण्डारी मंगलबार स्वदेश फर्किनेछिन्।
नेपाल वायु सेवा निगमका अनुसार राष्ट्रपति भण्डारी सवार जहाज सोमबार बिहान ८ः३० देखि ८ः४० को बीचमा ढाका प्रस्थान गर्नेछ। उडानका लागि ढाकाबाट अनुमति प्राप्त भइसकेको निगमले जनाएको छ।
राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्रसचिव भरतराज पौड्याल र राष्ट्रपति कार्यालका अधिकारीहरू सहभागी हुनेछन्।
राष्ट्रपति भण्डारीले नेपाल–बंगलादेश सम्बन्धका बारेमा समेत सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ।
राष्ट्रपति भण्डारी समकक्षीद्वारा आयोजित राजकीय भोजमा सहभागी हुने तथा राष्ट्रिय संग्रहालयको भ्रमण गर्ने कार्यक्रम रहेको छ।
बंगलादेशमा रहेका नेपालीसँग पनि राष्ट्रपति भण्डारीले नेपाली राजदूतावासद्वारा आयोजित कार्यक्रममा भेटघाट गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।