काठमाडौं- एमालेका ११ जना स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गर्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्। उनीहरुले ओलीको राज्यसत्ता संरक्षित दक्षिणपन्थ र विसर्जनवादका विरुद्ध दृढताका साथ संघर्ष गर्दै अघि बढ्नु अपरिहार्य भएको बताएका छन्। विज्ञप्तिमा हस्ताक्षर गर्नेहरु माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सदस्य छन्।
‘पार्टीं पंक्तिको अपेक्षा, देशको आवश्यकता र पार्टीको विधान, पद्धति र अभ्यास विपरीत केपी शर्मा ओलीद्वारा सरकारी निवासमा गुटको भेला गरी यसलाई केन्द्रीय कमिटीको विशेष बैठकको नाम दिई कतिपय नेतालाई पदमुक्त गर्ने, नेताहरुको पदीय जिम्मेवारीमा फेरबदल गर्ने र केही नयाँ व्यक्तिलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने अवैध तथा स्वेच्छाचारी गुटगत कार्य भएको छ’, विज्ञप्तिमा भनिएको छ।
उनीहरुले केन्द्रीय कमिटीका बहुमत सदस्यको उपस्थिति नै नभएको उक्त गुटको भेलाबाट पार्टी विधानको व्यवस्था विपरीत अवैधानिक रुपमा विधान संशोधन गरिएको कुरा सार्वजनिक भन्दै पार्टीको विधान अनुरुप पार्टी विधानको संशोधन विधान महाधिवेशनले मात्र गर्न सक्ने स्मरण गराएका छन्।
‘उक्त कथित गुट भेलाले गरेको भनिएको विधान संशोधन पूर्णरुपमा अवैध र औचित्यहीन छ। अतः केपी ओलीबाट गुटको भेला गरी भएका भनिएका उक्त प्रकारका पार्टीको एकता विरोधी, स्वेच्छाचारी र अवैध निर्णय र कार्यहरुलाई हामी पूर्णरुपमा अस्वीकार गर्दछौं। पार्टीलाई विभाजनतर्फ धकेल्न उक्त कार्यको घोर विरोध एवम् भर्त्सना गर्दछौं’, उनीहरुको भनाइ छ।
प्रधानमन्त्री समेतको जिम्मेवारी प्राप्त गरी केपी शर्मा ओलीबाट जनादेश अनुरुप पाँच वर्ष वामपन्थी सरकार चलाउने, पार्टीलाई एकताबद्ध गर्दै राष्ट्रिय एकता कायम गर्ने भूमिका निर्वाचन गर्नुको सट्टा सरकारलाई विघटन तर्फ लैजाने, प्रतिनिधि सभालाई असंवैधानिक रुपमा विघटन गर्ने, वामपन्थी एकता र कम्युनिस्ट पार्टीको एकीकरणलाई समाप्त पार्ने र आफ्नै पार्टी नेकपा एमालेलाई समेत विभाजित गर्दै नेपालको कम्युनिस्ट आन्दोलनलाई नै विसर्जन गर्ने कुकर्मतर्फ काम कुराहरु भएको उनीहरुको भनाइ छ।
‘घटनाक्रमहरु तथा व्यवहारले केपी शर्मा ओलीमा कम्युनिस्ट पार्टीको सदस्यको रुपमा हुनुपर्ने सामान्य राजनीतिक चरित्र, आचरण र नैतिकता बाँकी नरहेको देखाइरहेका छन्। चरम व्यक्तिवाद, गुटबन्दी, अहंकार, आत्मप्रशंसा र संकीर्णस्वार्थमा रमाउने प्रवृत्तिले पार्टी र आन्दोलनलाई निरन्तर अप्ठ्यारोमा पार्दै आएको थियो। त्यस्तो गलत प्रवृत्ति र व्यवहारलाई सच्याउने हाम्रा सबै प्रयत्नहरु विफल भएका छन्’, विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।