काठमाडौं- नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकमा केपी शर्मा ओली नेतृत्वको पार्टी छोडे पनि ओली प्रवृत्ति भने पार्टीमा बाँकी नै रहेको टिप्पणी गरेका छन्। आइतबारदेखि सुरु भएको बैठकमा सातै प्रदेशका इन्चार्ज र अध्यक्षहरूले संगठनको अवस्थाबारे केन्द्रलाई रिर्पोटिङ गरेका छन्।
इन्चार्ज भएको स्थानमा इन्चार्जहरूले र नभएको स्थानमा अध्यक्षले पार्टीको अवस्था र आगामी कार्यनीतिबारे जानकारी गराएको बैठकमा सहभागी एक नेताले बताए।
बैठकमा बोल्ने अधिकांश नेताहरूले नेतृत्वको आलोचना गरेका छन्। उनीहरुले केपी शर्मा ओलीलाई छाडेपनि त्यो प्रवृत्ति भने बाँकी रहेको भन्दै आलोचना गरेका हुन्। माओवादी केन्द्रको नाम फेर्नेदेखि एमालेमा रहने निर्णय गरेका नेताहरुलाई अनुशासनको कारबाही गर्नेसहितका अजेन्डा पेस भएका थिए।
रिर्पोटिङका क्रममा अहिले तल्लो तहमा माओवादी कमजोर भएकाले अझै ध्रुवीकरण गरेर जानुपर्ने विषय उठेको छ। विगतमा नेकपाको नाममा संगठन अघि बढेकाले अहिले कमजोर हुनु स्वभाविक भएको भन्दै उनीहरूले माओवादीले सबैलाई जोडेर जान छलफल गर्नु पर्ने सुझाव दिएका थिए।
बैठकमा प्रदेश १ बाट सावित्रीकुमार काफ्ले, प्रदेश २ बाट विश्वनाथ साह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती मगर, कर्णालीबाट मायाप्रसाद शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले धारणा राखेका थिए।
त्यस्तै विदेश विभागका युवराज चौलागाईं, जनसंगठनबाट प्रल्हाद बुढाथोकी, विशेष कमिटीबाट लीलामणि पोखरेलले आफ्नो भनाई राखेका थिए। बैठक सोमबार ११ बजेका लागि निरन्तर राखिएको छ।
बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे केन्द्रीय कार्यालय र प्रदेश इन्चार्जका तर्फबाट रिपोर्टिङ, छलफल, सुझाव र टिप्पणी, विधान, संगठनात्मक काम र पार्टी अनुशासन कारबाहीको, कार्यकर्ता भेलासमेतका विषयमा छलफल भइरहेको छ।
पार्टीको नाम परिवर्तनसहित कम्युनिस्ट पार्टीबीच एकतासम्मका अजेन्डामा छलफल जारी रहेको छ।
माओवादी नेता रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, दावा तामाङ लगायतका नेताले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिने निर्णय गरेपछि शनिबार २४ घण्टे स्पष्टीकरण सोधेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।