काठमाडौं- प्रधानमन्त्री केपी ओलीको मन्त्रिपरिषद्मा रहेका र एमाले प्रवेश गरेका माओवादी केन्द्रका मन्त्रीहरुलाई सोधिएको स्पष्टीकरणको जवाफ नआएपछि कारबाही गरिने भएको छ।
माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा उनीहरुलाई कारबाहीको उद्देश्यसहित अनुशासनको विषयलाई पनि एजेन्डामा राखिएको छ। शनिबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले आफ्नो पार्टीको तर्फबाट मन्त्री भएकाहरुलाई मन्त्रिमण्डलबाट तत्काल फिर्ता आउन निर्देशन दिने निर्णय गरेको थियो।
गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणिचन्द्र थापा, सिँचाइ मन्त्री प्रभु साह, श्रम मन्त्री गौरीशंकर चौधरी र खेलकुद मन्त्री दावा लामा माओवादी केन्द्रका हुन्।
उनीहरु एमाले प्रवेश गरिसकेका छन्। साथै, एमालेको केन्द्रीय सदस्य भएकाहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो। तर २४ घण्टा बितिसक्दा पनि उनीहरुबाट जवाफ आएको छैन।
माओवादी केन्द्रको बैठकमा ६ वटा एजेन्डा तय गरिएका छन्। बैठकमा सहभागी एक जना केन्द्रीय कमिटी सदस्यले दिएको जानकारी अनुसार वर्तमान राजनीतिक स्थितिबारे केन्द्रीय कार्यालय र प्रदेश इन्जार्जले रिपोर्ट गर्नेछन्।
बैठकका विविध एजेन्डामा पार्टीको नाम लगायतका तीन विषय छन्। फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएका थिए। त्यसपछि माओवादी केन्द्रको नाम फेर्ने चर्चा चलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।