काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी छ। शनिबारको स्थायी समिति बैठकको निर्णय अनुसार आइतबार माओवादीको केन्द्रीय कमिटीको बैठक बसेको हो।
बैठकका लागि ६ वटा अजेन्डा तय गरिएको छ। बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे केन्द्रीय कार्यालयका तर्फबाट र प्रदेश इन्चार्जको तर्फबाट रिपोर्टिङ हुनेछ।
छलफल, सुझाव र टिप्पणीलाई पनि अजेन्डा रुपमा राखिएको छ। सांगठनिक काम, पार्टीको विधान, अनुशासन उलंघन गर्नेलाई कारबाही, कार्यकर्ता भेला लगायतका विषयमा पनि छलफल हुनेछ।
यसैगरी, विविध अन्तर्गत पार्टीको नाम, विचार मिल्ने दलसँगको एकताबारे छलफल हुने बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए।
बैठकमा एमालेतिर लागेर जिम्मेवारी पाएका नेतालाई कारबाही, सत्ता समीकरण, सरकारलाई दिएको समर्थन फिर्तालगायत विषयमा छलफल हुने ती सदस्यले बताए।
बैठकमा पार्टीको नाम परिवर्तन र संगठनको अवस्थाका विषयमा कार्यदलले प्रस्ताव पेश गर्ने समेत बताइएको छ। कार्यदलमा जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल र पम्फा भुसाल थिए।
फागुन २५ मा गते बसेको स्थायी कमिटी बैठकले पार्टीको नाम परिवर्तन र सांगठनिक अवस्थाबारे प्रतिवेदन तयार पार्न कार्यदल गठन गरेको थियो।
हिजोको स्थायी समिति बैठकले सरकारमा रहेका ७ मन्त्रीलाई फिर्ता बोलाउने र एमालेमा गएका २३ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।माओवादीबाट रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, दावा लामा र गौरीशंकर चौधरी मन्त्री छन्।
थापासहित २३ नेतालाई शुक्रबार एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य मनोनित गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।