काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधवकुमार नेपाल र झलनाथ खनालले नेतृत्व गरेको पक्षले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ।
शनिबार काठमाडौंमा सम्पन्न केन्द्रीय कमिटी सदस्य र सांसदहरुको भेलाले यस्तो निर्णय गरेको हो।
भेलापछि पत्रकारहरुसँग कुरा गर्दै एमालेका उपाध्यक्ष भीम रावलले कार्यकर्ता भेलाले ‘महत्वपूर्ण निर्णय’ गर्ने बताए।
भेलामा जिल्ला कमिटीका पदाधिकारीदेखि सबै प्रदेश कमिटीमा आबद्ध पदाधिकारी र सदस्यहरु, स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखहरु, एमालेका स्थायी कमिटी, केन्द्रीय कमिटीदेखि जनसंगठनमा रहेकाहरू, संघीय संसद र प्रदेश सभाका सदस्यहरु सहभागी हुने रावलले बताए।
यो भेलालाई कतिपयले एमाले औपचारिक रुपमा विभाजन हुन सक्ने मञ्च बन्न सक्ने बताएका छन्।
रावलले प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलाविपरीत माओवादीमा रहेका नेतालाई एमालेमा मनोनीत गरें भनेर अवैध र हास्यास्पद निर्णय बालुवाटारबाट गरेको समेत उल्लेख गरे।
रावलले भने, ‘आजकै भेलाबाट पनि हामीले प्रष्ट भनेका छौं, नेकपा एमालेका सबै कमिटी, यससँग आवद्ध सबै जनसंगठन पुनर्जीवित र पुनःसंगठित हुनेछन्। समानान्तर कमिटी भनेर अर्को खोल्छौं भनेको होइन, अदालतको फैसलाबमोजिम पार्टी पुनर्गठन गर्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।