काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट पार्टीका विरुद्धमा लड्नुपर्ने बेला भएको बताएका छन्। शनिबार नेपाली कांग्रेस केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिस्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागू गर्न चाहेका कारण प्रजातन्त्रलाई स्थायी बनाउन कम्युनिस्ट पार्टीविरुद्ध लड्नुपर्ने बेला आएको बताएका हुन्।
कम्युनिस्टहरु प्रजातन्त्रको खिलापमा रहेको भन्दै सभापति देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्ने बताए। ‘प्रजातन्त्र सबैभन्दा महत्वपूर्ण कुरा हो। ओली सरकार कस्तो प्रजातान्त्रिक संस्कार नै नभएको? कम्युनिस्ट एकदलीय सर्वसत्तावाद लागू गर्न चाहन्छ। झुठा नारा दिएर, जनतालाई बहकाएर, महिलाहरुलाई बहकाएर आफू सत्तामा बसिरहने कुरा हो,' देउवाले थपे, 'हाम्रो पार्टीले प्रजातन्त्रलाई स्थायी गराउन आवश्यक छ। स्थायी गराउन, कसैले प्रजातन्त्रमाथि आक्रमण गर्न नसकोस्।'
२००७ सालमा राणा शासनविरुद्ध लडेको स्मरण गर्दै देउवाले पञ्चायतविरुद्ध लडेको पनि सम्झिए। 'अहिले पनि कम्युनिस्टको खिलापमा प्रजातन्त्रकै लागि लड्नुुपर्ने बेला भएको छ। प्रजातन्त्रको खिलापमा उनीहरु छन् तर हामीले स्थायी प्रजातन्त्र, कसैले हटाउन नसक्ने प्रजातन्त्र स्थापना गर्नुछ नेपालमा। त्यसका लागि एउटा मात्रै पार्टी छ नेपालमा, नेपाली कांग्रेस पार्टी छ। अरु प्रजातन्त्रवादी पार्टी नै होइनन्,’ देउवाले भनेका थिए।
कार्यक्रममा सभापति देउवाले देशको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको पनि बताए। नेपाली कांग्रेसले लोभ र हतार गर्नु नहुने भन्दै उहाँले परिस्थिति आइपरे जिम्मेवारीबाट नभाग्ने पनि स्पष्ट पारे। ‘नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा छ । हाम्रो पार्टीले धेरै हतार गर्ने लोभ गर्ने काम पनि छैन । र परिस्थिति प¥यो भने जिम्मेवारीबाट भाग्ने काम पनि छैन,’ उनले भने।
महिलाहरुलाई पार्टीमा आकर्षित गर्न नसकिए पार्टीको जित कहिल्यै नहुने उनको भनाइ थियो। 'महिला शक्ति हो। जिताउन सक्छ महिलाहरुले, हराउनपनि सक्छ। महिलालाई जस्तो अधिकार देशले दिएको छ, त्यो अधिकार कांग्रेसले पनि दिएको छ। महिला मतदातालाई हाम्रो पार्टीमा आकर्षित बढी गराउनुपर्यो।’
सभापति देउवाले देशको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको पनि बताए। ‘नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा छ। हाम्रो पार्टीले धेरै हतार गर्ने लोभ गर्ने काम पनि छैन। र परिस्थिति पर्यो भने जिम्मेवारीबाट भाग्ने काम पनि छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।