काठमाडाैं– प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई हटाएर देशमा अस्थिरता सिर्जना गर्ने प्रयास सुरु भएकाे उपप्रधानमन्त्री ईश्वर पोखरेलले टिप्पणी गरेका छन्। १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सम्बाेधन गर्दै अस्थिरताको खेल सुरु गरेर देशको समृद्धिको यात्रालाई रोक्ने प्रयास गरिरहेकाे उनले दावी गरेका हुन्।
‘एउटा घिनलाग्दो खेल सुरु गरिएको छ। राष्ट्रिय स्वाभिमान र सामाजिक सद्भाव भड्काउने कोशिस गरिएको छ,’ पोखरलले भने, ‘सरकारले लिएको देशभक्त र विकासको यात्रालाई रोक्न यस्ता प्रयास गरिरहेका हुन्।’ देशमा रहेका यस्ता प्रवृत्ति बोक्ने व्यक्तिहरुप्रति उभिनुपर्ने अवस्था आएको समेत उनको तर्क थियो।
सरकार महिलाको हकहितका लागि कानुन बनाउँदा समेत अवरोध भएको उनले बताए। एसिड आक्रमण र बलत्कार जस्ता कानुन बनाउन सरकारले ल्याएको अध्यादेश प्रतिनिधि सभामा पेश गर्न नदिएको भन्दै उनले यी कानुन पारित गराएरै छाड्ने दावीसमेत गरे।
‘प्रतिनिधि सभामा यी अध्यादेश पेश गर्न दिइएन। अवरोध गरियो’ पोखरेलले भने, ‘यसरी विरोध गर्नेमा माधव नेपाल देखि शेरबहादुर देउवासम्म उभिनु भएको थियो। यस्तो कार्यको विरोध र भत्सना गर्न जरुरी छ।’
सरकारले सर्वोच्चको फैसलापछि बोलाएको प्रतिनिधि सभाको पहिलो बैठक संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पेश गरेको थियो। सोही दिन सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसला सुनाएको थियो। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले यो अध्यादेशमा आफूहरुको विरोध रहेको भन्दै संसद बहिस्कार गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।