फाइल तस्बिर
काठमाडाैं- ओली प्रवृत्तिविरुद्ध एक हुनुपर्ने अवस्था आएको नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गर्दै केही नेतालाई कारबाही गरेपछि बोलाइएको नेपाल तथा झलनाथ खनाल पक्षको केन्द्रीय कमिटी बैठकमा उनले अब पार्टीमा संघर्ष सुरु भएको बताएका हुन्।
पार्टीमा धेरै विवाद तथा आरोह अवरोह आएको बताउँदै बरिष्ठ नेता माधवकुमार नेपालले भने, ‘कहिले विचलित भएनौं आत्तिएनौं।’ अहिलेको परिस्थितिबाट पनि आत्तिनु नहुने उनको भनाइ थियो।
अहिलेको अवस्थामा साथीहरूमा निराशा हुनु स्वभाविक रहेको बताउँदै उनले भने, ‘हिम्मतका साथ अगाडि बढनुपर्छ,। जनताको अपेक्षा र विश्वास छ।’ कसैको लहडमा नभई सैद्धान्तिक सोच र धारणाबाट अगाडि बढ्नुपर्नेमा उनले जोड दिए।
पार्टीमा देखिएको ओली प्रवृत्तिको अन्त्य हुनु जरुरी रहेको बताउँदै उनले थपे, कसरी आन्दोलन अगाडी बढाउने विषयमा चिन्तन मनन गरेर अगाडि बढनुपर्छ।’ कम्युनिस्ट पार्टीलाई कसरी बलियो बनाउने भन्ने हिसाबले अगाडि बढ्नु अबको आवश्यकता रहेको उनको भनाइ थियो। गलत प्रवृत्तिका विरुद्ध विचलित भएर हिँड्ने नभई एकजुट हुने बेला आएको उनले बताए।

दुई ठूला पार्टीबीच एकता भएर अगाडि बढेको अवस्थाबाट कसरी नयाँ परिस्थिति उत्पन्न भयो यसबारेर विश्लेषण गर्नुपर्ने भन्दै उनले थपे, ‘अब कसरी गरेर अगाडि बढ्ने भन्ने नै अहिलेको मुख्य चुनौती हो।’
पार्टीलाई एकताबद्ध बनाएर लैजान आफूहरुले पहिलेदेखि नै निरन्तर प्रयास गरेको उनको भनाइ थियो।
नेपाल– खनाल समूहले पार्टीमा समानान्तर छुट्टै कमिटी बनाउन डाकेको बैठक बिहान ११ बजे अर्याल होटलमा बस्दै छ।
शुक्रबार ओली पक्षधरको केन्द्रीय कमिटी बैठकले माधव नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोस्दै पूर्वमाओवादीका २३ जना नेतालाई केन्द्रीय सदस्य मनोनीत गर्नेलगायत निर्णय गरेको थियो।
नेपाल पक्षले त्यो बैठक नै नभएको र त्यस्ता बैठकलाई विधानले नचिन्ने भन्दै त्यसलाई खारेज गरिएको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।