काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता उपेन्द्र यादवले आफ्नो पार्टीका सांसद रेशम चौधरीलाई रिहा गरियो भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिइने तर सत्ता सहयात्राका लागि समर्थन नगर्ने बताएका छन्।
शनिबार पेरिसडाँडामा माओवादी केन्द्रसँगको छलफलपछि उनले ओलीसँगको छलफल चौधरीको रिहाइको लागि मात्रै भएको स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले जसपालाई सरकारमा आउन आग्रह गर्दै चौधरीलाई रिहाई गरिने आश्वासन दिँदै आएका छन्। प्रधानमन्त्री ओली र जसपाबीच पछिल्लो समय छलफल चलिरहेको छ। चौधरी टिकापुर हत्याकाण्डमा संलग्न भएको अभियोगमा जेलमा छन्।
यादवले सरकारको सर्वसत्तावाद विरूद्धको लडाइँमा कांग्रेस, माओवादी केन्द्र र जसपा एकैठाउँमा रहेको समेत बताए। 'हामी सहमति नजिक छौं। छुट्टाछुट्टै कुरा गरिरहेका छौं। अब संयुक्त बसेर टुंगो लगाउँछौं', उनले भने।
एमाले र माओवादी केन्द्र अलग अलग भएपछि प्रधानमन्त्री ओली अल्पमतमा परेका छन्। सरकार जोगाउन ओलीले जसपाको साथ खोजिरहेका छन्। यादवले प्रधानमन्त्री ओलीलई समर्थन गर्ने कुरै नआउनेसमेत बताए। 'हाम्रो दिमाग बिग्रिएको छ र?', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।