काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केपी शर्मा ओली पक्षकाे बैठकले प्रदेश १ र बागमतीमा दर्ता भएकाे मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिन निर्देशन दिएकाे छ।
बैठकपछि पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जारी गरेकाे विज्ञप्तिमा बैठकले प्रदेशसभामा पार्टीबाट प्रतिनिधित्व गर्ने सदस्यहरूलाई पार्टी निर्णय अनुरुप सञ्चालित हुन र अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको भए फिर्ता लिन निर्देशन दिएको उल्लेख छ।
यस्तै ओली पक्षले नेकपा माओवादी केन्द्रसँग तत्काल एकता संभव नभएको समेत ठहर गरेको छ। निर्वाचन आयोगले १५ दिनभित्र एकता गर्नका लागि दिएको थियो। 'बैठकले सबै पक्षसँग खुल्ला संवाद र छलफल गर्दै कम्युनिस्ट आन्दोलनलाई उचित र सही वैचारिक तथा सङ्गठनात्मक आधारमा एकताबद्ध बनाउने प्रयास जारी राख्ने निर्णय गर्दै निर्वाचन आयोगले दिएको १५ दिनको समयसीमाभित्र भने पार्टी एकीकरणको संभावना नरहेको निष्कर्ष निकालेको छ,' ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
अध्यक्ष ओलीले आफूलाई समस्या हुने भएपछि ७० वर्षे प्रावधान पनि हटाउने निर्णय गराएका छन्।
बैठकमा अध्यक्ष ओलीले पार्टी र आन्दोलनलाई समाप्त पार्न र आफ्नो पार्टीको नेतृत्वको सरकारलाई विस्थापित गरेर बुर्जुवा वर्गको हातमा नेतृत्व सुम्पिन गम्भीर षडयन्त्रहरु गरिएपनि आम जनताको साथ र पार्टीका प्रतिबद्ध नेता कार्यकर्ताहरुको सक्रियताले त्यसलाई विफल पारिएको बताएका थिए।
पार्टीको अधिकांश उर्जा र समय नेताहरुको व्यवस्थापनमा खर्च गर्न बाध्य पारिएको बताउँदै उनले सबै कमरेडहरुलाई अब जनताको समस्यामा केन्द्रित हुन आह्वान गरेका थिए।
उक्त पक्षको केन्द्रीय कमिटीको अर्को बैठक चैत ७ गते बस्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।