काठमाडौं- नेकपा एमालेको बालुवाटारमा बसेको प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षको बैठकले एमालेमा रहेको उमेर हद हटाउने निर्णय गरेको छ। विधानको व्यवस्थाअनुसार ओलीले आगामी महाधिवेशनबाट अवकाश लिनुपर्ने भएपछि यस्तो निर्णय लिइएको हो।
नवौं महाधिवेशनबाट ७० वर्ष उमेर पुगेपछि कुनै पनि कार्यकारी पदमा रहन नपाउने निर्णय पारित गरिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओली केही दिनअघि मात्रै ७० वर्ष पुगेका छन्।
पार्टी विधानमा रहेको उक्त व्यवस्थालाई परिवर्तित सन्दर्भ अनुकूल बनाउन वाधा अड्काउ गर्ने निर्णय गरिएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन्।
‘बैठकले पार्टी महाधिवेशनको समयावधि, उमेर हद, कमिटीको संरचना लगायत कतिपय प्रश्नमा नवौं महाधिवेशनबाट पारित विधानका व्यवस्थाहरुलाई परिवर्तित सन्दर्भ अनुकूल बनाउन वाधा अड्काउ फुकाउने पनि निर्णय गरेको छ,’ ज्ञवालीको प्रेस विज्ञप्तिमा उल्लेख छ।
एमालेको उक्त विधानमा ‘सबै कार्यकारी कमिटीमा निर्वाचित हुन वा मनोनित हुन उमेरको हद ७० वर्ष हुनेछ’ भनिएको छ। यही प्रावधानका कारण भरतमोहन अधिकारीले एमालेको केन्द्रीय सदस्य हुन पाएका थिएनन्। सिद्धिलाल सिंह केन्द्रीय कमिटीबाट निस्किएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।