काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षले सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलको ठाउँमा लेखराज भट्टको नेमप्लेट रोखेको छ। कैलालीको धनगढीस्थित प्रदेश पार्टी कार्यालयमा बुधबार ओली पक्षले प्रदेश इन्चार्जमा लेखराज भट्टको नेमप्लेट राखेको हो।
नेकपा हुँदा ओलीलाई साथ दिएका पूर्वमाओवादी नेता भट्ट एमाले र माओवादी केन्द्र ब्युँतिएपछि एमालेमा रहने निर्णय पुगेका छन्। तर, उनको जिम्मेवारी के हुने भन्ने केन्द्रले टुंगो नलगाउँदै एमालेका प्रदेश अध्यक्ष कर्ण थापा नेतृत्वको टोलीले भट्टको नामको बोर्ड पार्टी कार्यालयमा रोखेको छ।
भीम रावलको नेमप्लेट तोडफोड गरिएको छ। साेही क्रममा एमालेको दुई पक्षबीच झडप समेत भएको थियो। झडपपछि एमाले कार्यालयमा प्रहरी परिचालन गरिएको छ।
केही समयअघि ओली र प्रचण्ड-माधव समूह छुट्टिएपछि ओली पक्षले भट्टलाई इन्चार्ज बनाएको थियो। साविक एमालेमा रावल प्रदेश इन्चार्ज थिए।
एमाले सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले आफ्नो इन्चार्ज भट्ट नै रहेको दाबी गरेका छन्। उनले भने, ‘अहिले पनि हाम्रो इन्चार्ज लेखराज भट्ट नै हुनुहुन्छ। राजनीतिक रुपमा अगाडि बढेको कुरा बदर भनेको होइन। पुराना पार्टीलाई पार्टीविहीन बनाउन नहुने हुनाले एमाले र माओवादी केन्द्र नाम दिइएको छ। पहिले जे पद थिए, त्यहीँ हुन्छन् भनेर अदालतले बोलेको होइन।
उनले इन्चार्ज रावललाई इंगित गर्दै आफ्नो पार्टीमा अनुशासित कार्यकर्ता चाहिएकाले बबन्डर गर्ने आवश्यक नभएको बताए। उनको भनाइ छ, ‘एमालेमा नेताको कमी छैन। बबन्डर गर्नेका लागि ढोका बन्द छ। यो पार्टीलाई ध्वस्त बनाउनेका लागि एमालेको ढोका बन्द छ।’
तर, बोर्डहरु फाल्नेका विषयमा उनले छानविन गरेर कारबाही गर्ने पनि बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।