सिन्धुपाल्चाेक– सर्वोच्च अदालतको फैसलापछि नेकपाको ओली पक्षले सिन्धुपाल्चोक जिल्लास्थित पार्टी कार्यालय पुनःस्थापना गरेको छ। मंगलबार सिन्धुपाल्चोकको सदरमुकाम चौतरास्थित नेकपाको कार्यालयको बोर्ड झिकेर नेकपा एमालेको बोर्ड राखिएको हो।
सदरमुकामस्थित पार्टी कार्यालयमा नेता, कार्यकर्ताहरू भेला भएर नेकपा एमालेको बोर्ड राखेका हुन्। बोर्डसँगै कार्यालय स्थापना गर्न एमाले नेता एवंम पूर्व सांसद कृष्णराज श्रेष्ठ, नेता हस्त पण्डित, बालकृष्ण देउजा लगायतका नेताहरु चौतारास्थित पार्टी कार्यालयमा उपस्थित भएका थिए।
ओली खेमाका नेताहरु जिल्ला पार्टी कार्यालय पुनःस्थापनामा जुटेपनि यसअघि ओलीको कदमविरुद्ध उत्रिएका एमाले नेताहरु भने कार्यक्रममा सहभागी भएनन्।
कार्यालयको चाबी माग्दा नदिएपछि कार्यालय पुनःस्थापनाका लागि गएका नेता कार्याकर्ताले प्रहरीकै रोहबरमा ताला फोरेर नयाँ ताला लगाइदिएका थिए।
‘चाबी माग्दा हामीलाई दिइएन, प्रहरीकै रोहबरमा ताला फोरेर साईनबोर्ड फेरेका छौँ’, एमालेका पूर्व जिल्ला अध्यक्ष एवम नेता हस्त पण्डितले भने। अदालती फैसलापछि एमालेका नेता, कार्यकर्ता एक ढिक्का भई अढि बढ्न पनि पण्डितले आग्रह गरे।
पार्टी एकीकरणपछि नेकपा एमालेको जिल्ला कार्यालयलाई नै नेकपाले कार्यालय बनाएको थियो।
एमालेका तत्कालिन जिल्ला अध्यक्ष हस्त पण्डितका पालामा यो कार्यालय भवन निर्माण गरिएको थियो।
भवन निर्माणका लागि पूर्वसांसद कृष्णराज श्रेष्ठ, बागमती प्रदेश सभाका सांसद सरेश नेपाल, एमाले नेता गम्भीरलाल श्रेष्ठ लगायतको महत्वपूर्ण भूमिका रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।