काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)सँग सत्ता साझेदारीका लागि औपचारिक प्रस्ताव राखेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सर्वोच्च अदालतले वैधता नदिएसँगै एमाले र माओवादी अलग–अलग भएपछि अल्पमतमा पर्ने निश्चित भएका प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको चौंथो ठूलो दल जसपासँग सत्ता साझेदारीको प्रस्ताव राखेका हुन्।
मंगलबार सुरु भएको जसपाको संसदीय दलको बैठकमा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओलीबाट आएको प्रस्तावबारे जानकारी गराएका हुन्। ‘उहाँले मेरो तर्फबाट तीन जनाको टिम बनाएको छु, सत्ता साझेदारीका लागि कुरा अघि बढाऔं भन्नुभो’, बैठकमा ठाकुरले राखेको भनाइ उदधृत गर्दै जसपाका नेता एवं सांसद मोहम्मद इस्तियाक राईले भने।
प्रधानमन्त्री ओलीले बनाएको टिममा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई थिए।
त्यसपछि आफूले सोमबार सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई कुरा गर्न पठाएको जानकारी ठाकुरले बैठकमा गराएका थिए। ‘उहाँहरुले तपाईंहरुको कन्सर्न के हुन् भन्नुस्, ती मिलाएर सत्ता साझेदारी गरौं भन्ने प्रस्ताव गर्नुभो’, ठाकुरलाई उद्धृत गर्दै राईले भने, ‘हाम्रा साथीहरुले सत्ता साझेदारी अहिले हुँदैन, हाम्रो चासो संविधान संशोधन हुनुपर्छ भन्ने हो। त्यो नभएसम्म अरु केही सोच्दैनौं।’
ठाकुरले जसपामा पूर्वराष्ट्रिय जनता पार्टी (राजपा)को प्रतिनिधित्व गर्छन्। मंगलबारको संसदीय दलको बैठकमा बोल्ने पूर्वराजपाका अधिकांश सांसदहरुले भने प्रधानमन्त्री ओलीले प्रतिगामी कदम चालेको र उनीसँग कुनै हालतमा सत्ता सहकार्य गर्न नहुने धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।