काठमाडौं–कालो लामो जगल्टा, आफूलाई फिट नभएर खुकुलो भएका लुगा, लामा दाह्री र हातमा चुरोट। संगीतको क्षेत्रमा यो हुलिया दिमागमा आउने वित्तिकै मानिसको आँखामा बब मार्लीको तस्वीर आउँछ। तर, यही हुलियामा एक हातमा चुरोट र अर्को हातमा गितार जस्तै देखिने बाजा युकुलेले समातेको दृष्य थप्ने हो भने तस्वीर परिवर्तन हुन्छ । दिमागको पृष्ठभूमिमा देखिन्छ, फिरन्ते संगीतप्रेमी अर्को मुखर्जी।
तिम्रो नै माया लाउँदछ साइँली सम्झन्छु छिनछिन
तिमीले माया नगरे पनि, गर्छु म दिनदिन
नेपालका लोक गायक झलकमान गन्धर्वले गाएको गीतलाई अर्कोले पनि गाए। यसले युवापुस्ता माझ फेरी एकपटक झलकमानको सम्झना गरायो। झलकमान गन्धर्वलाई भुलिसकेका मानिसले पनि उनको याद गरे।
यी र यस्ता दर्जन नेपाली गीत गाइसकेका छन् अर्कोले। नेपालीसँगै अन्य २१ भाषाका लोकगीत पनि गाएका छन्। उनका अनुसार भिन्न–भिन्न भाषामा गीत गाउनु उनको संगीतप्रतिको प्रेम हो। कतिपय मानिसले उनलाई यसरी फरक भाषाका गीत गाउनुको कारण खोजी गरिरहन्छन्। जसको कारण उनीसँग छैन। प्रष्ट पार्दै अर्को भन्छन्, म हरेक भाषाको गीत गाउन सक्छु भनेर प्रमाणित गर्नचाहिँ गाउँदिन।
अर्कोकी आमा बंगलादेशकी शरणार्थी हुन् । उनैले गाउने बांग्ला भाषाको लोकगीत सुनेर उनी हुर्किए । बाल्यकालबाटै हरेक ठाउँको गीतलाई प्रेम गर्नुपर्छ भन्ने भावना जागृत हुँदै गयो ।
विश्वका विभिन्न ठाउँमा घुम्दै त्यहाँको लोकसंगीतलाई टपक्क टिपेर आफ्ना स्वरमा मिलाउन सिपालु छन् उनी। यति हुँदाहुँदै पनि उनी आफूलाई फिरन्ते गायक मात्रै सोच्छन्, गज्जवको गायक मान्दैनन्।
उनी नेपालीमा दाइ र दाजुको फरक छुट्याउन सक्छन् । उनी अर्कोको नेपाली अर्थ र बेङ्गाली अर्थ पनि छुट्याउन सक्छन्। बेङ्गालीमा अर्कोको मतलव सूर्य हुन्छ भने नेपालीमा अर्को को अर्थ योभन्दा पछि भन्ने हुन्छ। विभिन्न भाषामा आफ्नै नामको अर्थ खोज्दै रमाइलो गर्न रुचाउँछन् उनी।
देशका बिभिन्न ठाउँमा घुमे पनि नेपाल आउँदा भने उनलाई आफ्नो घर आएजस्तै लाग्छ । यसको कारण खोतल्दा उनी भन्छन्, सायद नेपाली लोकसंगीत र बंग्ला लोकसंगीतमा धेरै भिन्नता नभएर होला।
अर्कोको रगतमा संगीत छ। उनको हजुरबुबा मजदूरका गीत गाउँथे । त्यो बेलादेखि नै संगीत परिवारको सदस्य बनेर बस्यो। पछि उनका बाबु र आमा पनि क्लासिकल गीतसंगीतमा रमाए।
अर्कोले पनि क्लासिकल गीत सिकेको दुई वर्ष उमेरदेखि हो। त्यो समयमा उनलाई क्लासिकल गीत पटक्कै मन पर्दैनथ्यो । बाबुआमाले कर गरेर गीत गाउन बस्दा उनी झर्कन्थे, रिसाउँथे ।
जव ११ बर्षका पुगे, उनको रस पाश्चात्य संगीतको एक बिधा रक एण्ड रोलमा बढ्यो । उनी अहिले पनि सम्झन्छन्, ब्लुज ब्याण्डका गीतबाट उनी निकै प्रभावित भएका थिए। त्यही समयमा उनले जिस्पी, ज्याजलगायत पाश्चात्य संगीतसँग मित्रता बढाए ।
अर्को नौ वर्षको हुँदा म पहिलोचोटि सन्दकपुर पुगेका थिए। नेपालको इलाम र वेस्ट बंगालको सिमानामा पर्ने यो शहरमा उनले ट्रेकिङ गाइड अर्जुन शेर्पालाई भेटे। उनै शेर्पाले अर्कोलाई रेशम फिरिरी गाउन सिकाए। त्यसपछि भने उनी हरेक वर्ष म नेपाल घुम्न थाले। त्यही सिलसिलामा अर्का विनय मोक्तानले उनलाई नेपाली गीतसँग परिचित गराए। ‘मोहनी लाग्ला है’, ‘तुलसी आँगनमा रोपौँला’ जस्ताले उनलाई नेपाली गितसंगितमा तान्यो ।
पछि घुमघामकै सिलसिलामा उनी कंचनजंघा पुगे। त्यहाँ गन्धर्व गीतसँग उनको भेट भयो। एकपटक ट्याक्सीमा सुनेको झलकमान गन्धर्वको गीतले पहिल्यै उनको मनमा डेरा जमाइसकेको थियो।
नेपाली गीतसंगीतले निकै तान्न थालेपछि उनको नेपाल आउने क्रम पनि बाक्लिन थाल्यो। एकपटक वसन्तपुरमा एक्लै गीत गाइरहेका थिए। उनको गीत सुन्न वरपर मानिसको भिड पनि बढिरहेको थियो। त्यो हुलमा मिसिएर पुगे नेपालका पायोनियर जिप्सी एण्ड ज्याजका हरि महर्जन। हरि महर्जनले उनको संगीत बुझेको देखेर यी दुईबीच मित्रता बढ्यो। उनै महर्जनसँग मिलेर उनले केही नेपाली लोक गीत गाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।