धनुषा- मिथिला क्षेत्रमा घन्कने झिझिया गीत र त्यसको तालमा जादुमय तरिकाले नाच्ने नृत्यांगनाको समूह लोप हुँदै गएको छ।
‘तोहरेलागि झिझिया बनैली हो बरमबाबा...!’ को रागले सुनसान रातमा बस्तीका सडकहुँदै ग्रामदेवता (ब्रम्हस्थान) स्थलमा पुगेर बडा दशैँपर्वमा मिथिलाका नारीले सुरिलो भाखामा गाउँदै फनफनी आफूलाई घुमाएर नाचेको देखाउने गरेका यो प्राचीन तान्त्रिक नृत्य अव मिथिलाञ्चलबाट हराउँदै गएको हो ।
असुर प्रवृति विरुद्घ सात्विक प्रवृति र असत्यमाथि सत्यको विजयका रुपमा मनाइने दशैँं पर्वमा खासगरी मिथिला क्षेत्रको प्रमुख आकर्षण नै विगतमा झिझिया नृत्य रहने गरेको थियो । ‘दशैँं लागेपछि प्रत्येक रात बस्तीका महिला सहभागी हुने झिझिया नृत्य पछिल्ला केही वर्षयता सुनिन, देखिन छाडेको छ’ महोत्तरी भंगाहा नगरपालिका– ४ रामनगरका ८० वर्षीय रामनन्दन महतोले भन्नुभयो–, “अब त बरु हामीले बुझ्दै नबुझ्ने भाषाका गीत टोल बस्तीमा सुनिने गरिएको छ ।” डिस्को बाजासँगै कर्कस स्वरमा गाउँनगर बस्तीमा सुनिने गीतप्रति महतोले ब्यङ्ग गर्नुभयो ।
दशैं लागेपछि देवी दुर्गाबाट पराजित भएका दुष्ट आत्मा टोल बस्तीमा प्रवेश गरेर सर्वसाधारणलाई दु:ख दिनसक्ने रुढी विश्वासका आधारमा त्यस्ता आत्मालाई प्रवेश गर्न नदिन राति जाग्राम रही ग्राम देवतालाई पुकार गर्दै गाउने गीत र नृत्यलाई झिझिया भनिन्छ। दशैँ पर्व (नवरात्र) शुरु हुनासाथ यो गीत र नृत्य पनि प्रराम्भ हुन्छ।
असंख्य स–साना प्वाल पारिएको माटोको गाग्रो (घैंटो) भित्र बत्ती बालेर एकजना फनफनी नाच्दै घुम्ने र अरुले गीत गाउँने गरेको यो पुरानो संस्कृति नयाँ पुस्ताका छोरी बुहारीले नअँगालेपछि यो लोप हुने स्थितिमा पुगेको जिल्लाकै मटिहानीस्थित याज्ञबल्क्य लक्ष्मीनारायण विद्यापिठका उपप्राध्यापक ध्रुवराय बताउँछन्।' मिथिला संस्कृतिको अंग नै स्थापित भएकाले यसलाई परिमार्जित गर्दै संरक्षण गर्न जरुरी छ। तान्त्रिक विधिको यो गीत–नृत्य अव एक समयको कथाजस्तो बनिसकेको छ,' रायले भने।
मिथिला संस्कृतिको अभिन्न अंग मानिएको झिझिया गीतको नृत्यलाई जीवन्त राख्न पछिल्लो पुस्ताले चासो बढाउनसँगै पहलकदमी लिनुपर्ने बुढापाकाको सुझाव छ । झिझियाको लयमा नारी शिक्षाको अवस्था, सुरक्षा अवस्थाको चुनौती र वर्तमान परिवेशसँग मेल खाने भाव समेटेर यसलाई परिस्कृत गर्न गर्नुपर्ने भंगाहा–७ हतिसर्वाका बासिन्दा तथा माध्यमिक विद्यालयको प्रधानाध्यापक सेवाबाट अवकाश लिनुभएका ७३ वर्षीय विष्णुनारायण राय थारु बताउँछन्।
वर्षौँदेखि झिझिया नृत्यलाई निरन्तरता दिँदै आएकी जलेश्वर नगरपालिका– २ की रामरती साह पनि साथी नथपिएपछि यसपाली झिझियालाई निरन्तरता दिन नसकेको बताउँछिन्। ‘नयाँ पुस्ताका युवा छोरी–चेली यसप्रति वास्ता देखाउँदैनन्, ५५ वर्षीया साहले भनिन्, 'अब त झिझिया भन्ने कुरा कुनै जमानाको कथाजस्तो गरी सुनाउने स्थिति भइसक्यो।' रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।