काठमाडौं- निर्वाचन आचारसंहिता लागू भएपछि कर्मचारीको सरुवा गर्न नपाउने प्रावधान कडाईका साथ लागू हुनुपर्ने कांग्रेसले सुझाएको छ।
आचारसंहिताको सन्दर्भमा दलहरुसँग छलफल गर्न निर्वाचन आयोगले आइतबार बोलाएको बैठकमा कांग्रेसले निर्वाचन प्रभावित हुने गरी सरुवा गर्न नहुने सुझाएको हो। आयोगले बोलाएको बैठकमा उपस्थित नेता आनन्द ढुङ्गानाले निर्वाचन प्रभावित हुन सक्ने भएकाले कर्मचारीको सरुवा गर्न नहुने तर्क राखे।
आयोगले कुनै सचिवको कार्यकाल सकिएको अवस्था र तुरुन्त पदपुर्ति गर्नुपर्ने भए त्यसबेला के गर्ने भनि सहभागी दलसँग सुझाव मागेको थियो। आयोगलाई अप्ठ्यारो परेको बेला पूर्वस्विकृति प्राप्त गर्ने व्यवस्था हुनुपर्ने कांग्रेसले सुझाव दिएको ढुङ्गानाले बताए।
सर्वोच्चको फैसला आउनुअघि नै आयोगले निर्वाचन तयारी गर्न सक्ने उनले बताए। विगतमा मनमोहन अधिकारीले प्रतिनिधि सभा विघटन गर्दा समेत आयोगले आफ्नो तयारी गरिरहेको उनले स्मरण गरे। त्यतिबेला सर्वोच्चले संसद भंग गर्ने कार्यलाई बदर गरिदिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।