काठमाडौं- शनिबार राति साढे ९ बजे वैदेशिक रोजगार व्यवसायीहरूको 'क्लोज ग्रुप'मा वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङले म्यासेज लेखे, 'श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका नवनियुक्त सचिव सूर्यप्रसाद गौतमलाई हार्दिक स्वागत तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु।'
केही दिनअघि मात्रै श्रम कार्यालयमा वैदेशिक रोजगार व्यवसायीले अनुगमनका नाममा दादागिरि देखाएको भन्दै चर्को आलोचना भइरहेको बेला व्यवसायीले नै सरकारभन्दा पहिल्यै सचिव फेरिएको सूचना सार्वजनिक गरे। गत बिहीबार मन्त्रिपरिषदको पछिल्लो बैठक बसेको थियो।
बैठकमा सहभागी भएका एक मन्त्रीकाअनुसार सचिव सरुवा गर्ने विषयमा छलफल भएपनि निर्णय भने गरिएको थिएन। 'विषय उठेको थियो, तर कसको कहाँ सरुवा भयो भन्ने निर्णय भएन,' ती मन्त्रीले भने।
राजपत्रांकित विशिष्ट श्रेणीको कर्मचारी सरुवा चासोकै विषय हो। सरकारले विधि पुर्याउने हो भने त्यस्तो सूचना सार्वजनिक जानकारीका लागि राजपत्रमै प्रकाशित गर्नुपर्ने हो। तर मन्त्रिपरिषदको तर्फबाट अहिलेसम्म यो विषय गोप्य नै राखिएको छ। 'राजपत्रमा प्रकाशित हुनुपर्ने सार्वजनिक महत्वको राजपत्रांकित विशिष्ठ श्रेणीका अधिकारीहरुको सरुवा गुपचुप राख्ने र बाहिरबाट व्यवसायीले हल्ला चलाउने अवस्था किन आयो बुझ्न सकिएको छैन,' सरकारका एक सचिवले भने।
श्रम मन्त्रालयबाट सरुवा भएका भनिएका सचिव तोयम् राय हुन् या लोकसेवा आयोगबाट सरुवा भएका भनिएका सचिव अर्जुन पोखरेल हुन्, अहिलेसम्म सरुवाबारे औपचारिक जानकारी नआएको बताउँछन्। 'अहिलेसम्म पत्र लिन बोलाएका छैनन्,' दुवैले भने।
सचिव सरुवा आम कर्मचारीका लागि विशेष चासोको विषय हुन्छ। उनीहरू मातहतका कर्मचारीले सरुवाको हल्ला चलेदेखि नै गर्ने व्यवहार फेरिने र काम लगाउन गाह्रो हुने सरकारका सचिवहरू नै बताउँछन्। 'दिनदिनै सरुवाको हल्ला चल्छ, बाहिरका मानिसले तपाईंको सरुवा भयो भन्छन्,' ती सचिवले भने, 'यस्तोमा त्यो सचिवले कुन मानसिकताले मन्त्रालय चलाउँछ?'
पूर्वमुख्यसचिव लीलामणि पौड्याल राजनीतिक नेतृत्व असक्षम हुँदा कर्मचारी प्रशासन अस्थिर हुने बताउँछन्। 'पहिले पहिले सरकार परिवर्तन हुँदा सचिव परिवर्तन भए, हामीले त्यसो पनि गर्न हुँदैन भन्थ्यौँ,' उनले भने, 'अहिले त ३ वर्षदेखि सरकारको नेतृत्व एउटै छ, यस्तो अवस्थामा कर्मचारी प्रशासन अस्थिर हुनु भनेको नेतृत्वकै असक्षमता हो।'
छिटो-छिटो हुने सचिव सरुवाले सेवा प्रवाहदेखि कामको गुणस्तर र काम गर्ने व्यक्तिको मनोविज्ञानमा समेत नकारात्मक असर पर्ने पौड्यालको बुझाइ छ। 'तीन महिनाअघि त्यही व्यक्ति असक्षम, अहिले योग्य कसरी हुन्छ,' उनले भने, 'कि त मन्त्रीले सचिवले काम गर्न सकेन भनेको हुनुपर्यो, त्यसो पनि सुनिँदैन। स्वार्थअनुकूल काम गराउन जुन बेला मन लाग्यो त्यही बेला सचिव सरुवा हुन्छ।'
अस्थिर प्रशासनिक नेतृत्व
२०७४ साल फागुनमा केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि चैतमा उनले एकैपटक ३० जना सचिवको सरुवा गरे। स्थायी सरकारले 'केही नयाँ गर्ने गरी' एकैपटक कर्मचारी प्रशासनमा हलचल ल्याएको विश्लेषण त्यतिबेला गरियो। तर त्यसको केही समयदेखि सरकारले कर्मचारी प्रशासनको नेतृत्व अस्थिर र कमजोर बनाउन थाल्यो।
सचिव बढुवा भएपछि प्रदेश जानुपर्ने नियम बनाइएको भएपनि त्यसैको कार्यान्वयन सरकारले नै गरेन। सचिवहरू सूर्य गौतम, देवकुमारी गुरागाईं, रामशरण पुडासैनी र एकनारायण अर्याल सिधै काठमाडौंमा 'पोस्टिङ' पाउने 'भाग्यमानी' अधिकृत ठहरिए। विषयविज्ञतालाई पन्छाउँदै शिक्षा समूहका गौतमलाई त महालेखा नियन्त्रकसमेत बनाइएको थियो।
महालेखा नियन्त्रक हुँदै भूमि सुधार मन्त्रालयको सचिव भएका गौतमले आफूलाई गृहसचिवको रूपमा 'प्रोजेक्सन' गरिरहेका थिए। तर उनको सरुवा त्यहाँबाट सार्वजनिक खरिद अनुगमन कार्यालयमा भयो। अर्थ र गृह मन्त्रालयका तत्कालीन सचिवहरूको नियमित अवकाशपछि नयाँले जिम्मेवारी पाएपनि बाँकी मन्त्रालयमा भने पटक-पटक सचिव फेरिएका छन्। स्वास्थ्य मन्त्रालयमा त ४/४ महिनामा सचिव फेरिए।
चर्चामा को-को?
पछिल्लो पटक करिब १२ जना सचिव सरुवाको चर्चामा छन्। चुनाव नजिकिँदै जाँदा गृह मन्त्रालयका सचिवदेखि निर्वाचन आयोगका सचिवसम्मको सरुवाको चर्चा छ। गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, निर्वाचन आयोगकी सचिव देवकुमारी गुरागाईं, संघीय मामिलाका सचिव एकनारायण अर्याल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव सुरेश अधिकारी, स्वास्थ्य सचिव लक्ष्मण अर्याल, वाणिज्य सचिव बैकुण्ठ अर्याल र प्रदेश नं १ का प्रमुख सचिव दिनेश भट्टराई सरुवाको सूचीमा छन्।
त्यस्तै, श्रम सचिव राय, लोकसेवा आयोगका सचिव पोखरेल पनि सरुवाको सूचीमा छन्। प्रधानमन्त्री कार्यालबाट तोयनारायण ज्ञवालीदेखि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालसम्म चर्चाको सूचीमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।