कालेबुङ- केन्द्रीय गृहमन्त्री राजनाथ सिंहको अपिल लगत्तै दार्जीलिङ पहाडमा एक सय दिनभन्दा लामो बन्द खुलेको छ। मंगलबार गृहमन्त्री सिंहले बन्द अपिल गर्नासाथ गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले बन्द खुलाउन आह्वान गरे। नेपालीहरुको चाड दशैं सँगसँगै दार्जीलिङको बन्द तत्काल १५ दिनलाई खुलेको छ।
संवाद नै समाधानको बाटो ः राजनाथ सिंह
अनिश्चितकालीन बन्दको १ सय ५ दिनपछि केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले मुख खोले। पहाडमा धेरै हिंसा, मारकाट र संसाधन नष्ट भइसकेपछि अनि जनताले पहाडको समस्याको स्थायी सामाधानको निम्ति केन्द्रीय हस्तक्षेपको माग बारम्बार गरिरहँदा पनि गृहमन्त्री मौन थिए। हिजो मंगलबार उनले लोकतन्त्रमा कुनै पनि समस्याको समाधानको माध्यम संवाद मात्र हो भन्दै मोर्चालाई अनिश्चितकालीन बन्द खुलाउन अपिल गरे।
उनको अपिल लगत्तै गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले बुधबार बिहानदेखि लागू हुनेगरी बन्द खुलाउने अपिल गरेका हुन्।
राजनाथ सिंहले भनेका छन्, ‘कानुनी परिधिभित्र बसेर गरिएका संयमित संवादमा नै सामाधान सम्भव छ।’ उनले यसको निम्ति केन्द्रीय गृह सचिव राजिव गौबालाई १५ दिनभित्र केन्द्रीय मन्त्रालयमा पहाडको समस्यालाई लिएर आधिकारिक स्तरको बैठक गर्न निर्देश पनि दिइसकेका छन्।
‘म विमल गुरूङलाई अपिल गर्छु, यसको निम्ति मोर्चाले पनि माहौल बनाउन्,’ सिंहले भनेका छन्, ‘मोर्चालाई अनिश्चिताकीलन बन्द खुलाएर जनजीवन सामान्य गर्ने र संवादको वातावरण बनाइदिने अपिल गर्छु।’
गुरूङले सिंहको यो अपिललाई टेरेका छन्।
सिंहको अपिललाई सम्मान : पहाड खुला
‘१५ दिनभित्रमा गोर्खाल्यान्डको निम्ति वार्ता हुनेछ, केन्द्रीय गृहमन्त्री राजनाथ सिंहको अपिललाई सम्मान गर्दै १५ दिनसम्मका लागि म बन्द स्थगित गरिएको घोषणा गर्छु,’ गुरूङले भनेका छन्, परिस्थितिलाई मध्यनजर गर्दै आन्दोलनले संवादको बाटो पक्रिएको कारण सबैलाई १५ दिनसम्म पहाड खुला गर्न सहयोग गरिदिनुहुन अपिल गर्छु।’
उनले यसो भनेको किही घन्टामै पहाड पूर्ण रूपले खुल्न सुरु भएको छ।
आश्वासनकै भरमा पहाड खुल्ने?
विमल गुरूङ विरोधी नेता विनय तामाङ, जो जिटीए-२ का प्रशासक पनि हुन् उनले विमल गुरूङको बन्द खोल्ने तरिका मन पराएनन्।
‘आश्वासनकै भरमा बन्द खोलेको?,’ विनय तामाङको पहिलो प्रतिक्रिया यस्तो थियो, ‘वास्तवमा विमललाई बन्द खोल्ने बाहना मात्र चाहिएको थियो। विमलले जनतालाई फेरि उल्लु बनाए।’
उनले खुलिसकेको पहाड फेरि खुलाउनुमा कुनै ‘लजिक’ देखेनन्। उनलाई लाग्छ, पहाड खुलिसकेकाले विमल अप्ठ्यारोमा परिसकेका थिए, त्यसबाट छुटकारा पाउन राजनाथ सिंहसँग नाटकको निम्ति बिन्ति बिसाइको हो। यो चलखेलमा सांसद एसएस अहलुवालियाको ठूलो भूमिका छ।
‘गृह मन्त्रालयको विज्ञप्तिमा गोर्खाल्यान्ड उल्लेख नै छैन,’ दुई सय वर्षसम्म पनि गोर्खाल्यान्ड हुँदैन भनेर भर्खर विवादित वयान दिएका विनय तामाङले अझ भनेका छन्, ‘वार्ता कुन विषयमा हुन्छ? राजनीतिक स्तरको वार्ता नभई सचिवस्तरको वार्ता कसरी सम्भव छ?’
फेरि सन्देहमा वार्ता
दुई दिनअघि भाजपाको सांगठानिक बैठकमा दार्जीलिङबारे बहस भएको थियो। सूत्र अनुसार पहाडको ताजा स्थितिलाई ध्यानमा राख्दै आगामी चुनावमा दार्जीलिङको लोकसभा सिटका लागि पनि यतिखेरै आवश्यक गतिविधि हुनुपर्नेबारे बैठकमा चर्चा भएको थियो।
यसलाई विमल गुरूङहरूले उनीहरूको मुद्दाबारे चर्चा भयो भन्ने बुझेका छन्।
सूत्रको भनाइ अनुसार भाजपाको बैठकमा दार्जीलिङ सिटबारे चर्चा गर्दा दार्जीलिङको ताजा स्थितिबारे पनि चर्चा भएको हो। भाजपा त्यसैको निम्ति दार्जीलिङमा वातावरण तयार पार्न चाहान्छ।
यता, राजनाथ सिंहले पहाडको समस्याबारे संवादको प्रक्रिया थाल्ने भन्दै विमल गुरूङलाई सही समयमा राजनीतिक संकटबाट बचाइदिएका छन्। यसैकारण छुट्टै राज्य गोर्खाल्यान्डका निम्ति नै गृहमन्त्रालयले वार्ता बोलाएको हो भन्ने कुरामा सबैले सन्देह गरेका हुन्।
वार्तामाथि वार्ताको परिणति
१६ अक्टोबर नवान्नमा विनय समूहहरूको निम्ति मुख्यमन्त्री ममता बेनर्जीले वार्ता बोलाएकी छन्। यो वार्तामा पहाडमा जनजीवन स्वाभाविक बनाउने अनि जिटिए-२ मार्फत हुनपर्ने विकासबारे चर्चा गर्ने बताइएको छ।
यता, मुख्यमन्त्रीले विनय तामाङहरूलाई 'जिटिए-२' दिने बित्तिकै उता गृहमन्त्रीले विमल गुरूङ समूहलाई आधिकारिक वार्ता गर्ने बताउनुले विमल-विनय वर्चश्वको राजनीतिलाई केन्द्र र राज्यले अहिलेको स्थितिमा आआफ्नो गोटी बनाउन खोजेको देखिएको छ।
राज्य पनि वार्ता नै भनिरहेको छ, अब केन्द्रले पनि वार्ता भन्न सुरु गरेको छ। तर, वार्ताले जनाकांक्षालाई सम्बोधन गर्ने कुरामा भने निश्चितता देखिएको छ।
राज्यको वार्तामा जिटिए मार्फत पहाडको विकासको एजेन्डा हुनु स्वाभाविक हो, केन्द्रको वार्तामा चाहिँ के हुने हो त? यही प्रश्न उठेको हो।
१५ दिनपछि के हुन्छ?
विमल समूह, जोसित जनताको समर्थन वा मान्डेट छ, लाई लिएर साँची नै २०१९ को चुनावका लागि केन्द्रले प्रयोग मात्र गर्ने हो कि छुट्टै राज्यको औचित्य वा गठनबारे गम्भीर छलफल पनि हुने हो, निश्चित छैन। तर, गृहमन्त्रीको अपिलद्वारा अहिलेको संकटबाट जनता पनि बाँचेका छन्, विमल पनि।
यद्दपि, १५ दिनपछि विमल गुरूङको राजनीतिक रणनीतिलाई जनताले मान्ने हुन् कि विनयको जिटिए-२ तिर लाग्ने हुन् किटेर भन्न सक्ने स्थिति छैन।
१६ अक्टोबरको बेनर्जीको वार्ता र १६ दिनभित्रको राजनाथको वार्ताले दार्जीलिङको धमिलो स्थितिलाई कसरी साम्य गर्ने हो, सबैले पर्खिएर बसेका छन्।
जनता विमल गुरूङको आन्दोलन र रणनीतिलाई अङ्गिकार गरेरै फेरि आन्दोलनरत् हुने हुन् कि विनय तामाङले प्रदान गर्ने सुविधाहरूको उपभोगमा लाग्ने हुन्? यो प्रश्न अहिले पहाडमा घुमिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।