चितवन- हेल्थ फाउन्डेसनको सहयोगमा चितवनका २१ सामुदायिक विद्यालयमा डिजिटल साक्षरता कार्यक्रम विस्तार गरिएको छ। फाउन्डेसनले आर्थिक स्थिति कमजोर भएका विद्यालयमा डिजिटल साक्षरता कार्यक्रम संचालन गरेको हो।
फाउन्डेसनले विद्यालयलाई कम्प्युटर प्रदान गर्ने, कम्प्युटर प्रयोगशाला स्थापना गर्न र प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरी डिजिटल साक्षरता बढाउन सहयोग गर्दै आएको छ।
नेपाल र अमेरिकामा रहेका चिकित्सा क्षेत्र, जनस्वास्थ्य, स्वास्थ्य प्राविधिक क्षेत्रमा कार्यरतहरुको समूहले संचालन गरेको फाउन्डेसनले डिजिटल शिक्षामा जोड दिँदै सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई प्रविधिमैत्री शिक्षामा सहज पहुँच स्थापना गर्न टेवा पुर्याउने उद्देश्यले कार्यक्रम संचालन गरिएको फाउन्डेसनका कार्यकारी निर्देशक मदनराज भट्टले बताए।
चितवनकै एक बाल आश्रममा समेत डिजिटल साक्षरता कार्यक्रम संचालन गरिएको फाउन्डेसनले जनाएको छ।
सन् २०१७ मा सुरु गरिएको कार्यक्रम थप विस्तार गरिने लक्ष्य फाउन्डेसनको छ। चितवनको रत्ननगरको एक चेपाङ केन्द्रलाई २ वटा कम्प्युटर हस्तान्तरण गरी कार्यक्रम सुरु गरिएको थियो।
चितवनको खैरहनी नगरपालिकास्थित राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक लोकबहादुर पौडेलले कार्यक्रमले विद्यार्थीलाई आधुनिक शिक्षा प्रदान गर्न सहयोग पुगेको बताए।
नेपालको साक्षारता दर ६८ प्रतिशत छ भने डिजिटल साक्षरता दर ३१ प्रतिशत मात्र छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।