काठमाडौं- 'दस हजार वर्षमा हामीलाई प्राप्त भएको सबैभन्दा अचम्मको चिज के हो?' उत्तर- कुखुराको खोर।
कुखुरा हरेक दिन आफ्ना साथीलाई काटेको हेरिरहन्छ। उसलाई थाहा छ, अर्को पटक काटिने पालो आफ्नै हो। तर ऊ कहिल्यै टाउको समेत उठाउँदैन। त्यो पिँजडाबाट कहिल्यै निस्कने कोशिस गर्दैन।
नोकर पनि त्यही कुखुराजस्तै हो। ढाडमा थिचिएको फर्निचर कमसेकम उसको दुई वर्षको तलब हो। तर पनि ऊ ती फर्निचर इमानदारीपूर्वक मालिकलाई सुम्पन्छ। 'किन?, हिन्दुस्तानी सच्चा र इमान्दार हुने भएकाले?' होइन, सबै नोकर मालिकको खोरमा फसेका हुन्छन्, कुखुरा जस्तै।
फिल्म 'द ह्वाइट टाइगर' हेरुन्जेल माथिको संवादले त्यहाँका नोकर पात्रलाई कुखुरा बनाएर हेर्न बाध्य बनाउँछ। फिल्म सकिएपछि वरपर नजर डुलाउँदा पनि कुखुरा नै कुखुरा चारैतिर दौडिरहेको देख्न थाल्छौं जो चुपचाप मालिकको चंगुलमा फसेर बसेका छन्।
फिल्मको कथा नोकर र मालिकको सम्बन्धबारे छ। नोकर बलराम हलुवाई (आदर्श गौतम) जसको रगतमा सधैं मालिकका लागि इमानदारी, बफादारी र चम्चागिरी दौडिरहेको छ। पढाइमा अब्बल बलराम गरिबीका कारण पढ्न पाउँदैनन्। परिवारको काममा फस्नुभन्दा मालिकको सेवा उनलाई आनन्द लाग्छ।
यता जमिनदारका छोरा अशोक (राजकुमार राव) र पिंकी (प्रियंका चोपडा) आधुनिक मानसिकताका छन्। अमेरिकामा पढे-बढेका यी दुई नोकर पनि मान्छे नै हुन् भन्ने ख्याल राख्छन्। तर उनीहरुको दिमागमा मानवताले बास गरेको छ या दानवताले, यो थाहा पाउन भने फिल्म नै हेर्नुपर्ने हुन्छ।
फिल्मको अन्त्यमा भूमिका परिवर्तन हुन्छ। नोकर बलरामले नामको अगाडि मालिक मात्रै हैन, नामै परिवर्तन गर्छन्।
दिमागमा झट्का लाग्छ, जब केही क्षणमै कुकुर र मालिकको सम्बन्ध परिवर्तन हुन्छ। फिल्म हेर्दाहेर्दै कुकुर मालिक बन्छ र अघिको मालिकलाई डोरीमा बाँधेर घिसार्न थाल्छ।
फिल्मले वास्तविक जीवन बोलेको छ। तिमी गरिब हौ, म पनि गरिब हुँ तर यो स्विकार्न मुस्किल पर्छ। फिल्मको कथा यही हो।
फिल्मले पोष्टर प्रदर्शनताका नै बताएको थियो- कि मार, नसके मर। शताब्दीमा एउटा मात्रै ह्वाइट टाइगरको जन्म हुने र ऊ निकै विद्रोही स्वभावको हुने कुरा फिल्ममा देखाउन खोजिएको छ।
फिल्मको सांकेतिक रुपमा बलराम सेतो बाघ हुन्। अशोक बाघ त हुन् तर उनी चिडियाघरमा थुनिएका छन्। आफ्नो मनमर्जीको काम गर्न पाउँदैनन्। पिंकी बघिनी हुन् जो अन्याय सहन सक्दिनन् र त्यसको विरुद्धमा जाइलाग्न पछि पर्दिनन्।
फिल्मको कन्सेप्ट नयाँ छ। हुन त केही समयअघि ओस्कार पुरस्कार जित्न सफल कोरियन फिल्म प्यारासाइटको झल्को नआउने हैन तर प्यारासाइटमा भएजस्तो इमोसन देखाउन भने फिल्म चुकेको छ।
करिब ५ सय पेजको किताबलाई दुई घण्टामा सकाउने चक्करमा फिल्मले इमोसन गुमाएको छ। फिलिङ्स र इमोसन फिल्ममा सिर्फ डाइलगमा मात्रै सीमित छ।
फिल्ममा राजनीति र गरिबीजस्तो बलियो विषय उठान गरिएको छ। तर दुवैलाई न्याय गर्न सकेको छैन।
फिल्ममा दुई जना राम्रा अभिनेता छन्। तर त्यसलाई निर्देशकले गतिलो तरिकाले चलाउन सकेका छैनन्। जसले गर्दा प्रियंका र राजकुमार आदर्शको अगाडी निरिह छन् ।
फिल्मलाई आदर्श गौरवको अभिनयले धानेको छ। उनको हाँसिरहेको ओठ र रोइरहेको आँखाले हरेक दर्शकको आङ सिरिङ्ग बनाउँछ।
फिल्ममा प्रयोग गरिएको ब्याकग्राउन्ड म्युजिक र सिम्बोलको रुपमा प्रयोग गरिएको खराब मौसमले कथालाई बलियो बनाएको छ।
जंगलको राजा सिंह हो। तर सर्कसमा जसको हातमा डन्डा छ ऊ मास्टर बन्छ र जंगलको राजा नोकर। त्यसैले पावर मालिक र नोकरमा हैन, जोसँग डन्डा अर्थात् पैसा छ ऊसँग हुन्छ। नेटफिल्कसले प्रदर्शन गरेको फिल्म समग्रमा हेर्नलायक नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।