काठमाडौं-विभाजित नेकपाको पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपाल पक्षले निर्वाचन आयोगले निर्णय दिन गरेको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरेको छ।
आन्दोलनका आगामी कार्यक्रम सार्वजनिक गर्न सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टी प्रवक्ता तथा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले भने-'संवैधानिक अंगको रुपमा निर्वाचन आयोगले स्वतन्त्र र निष्पक्ष ढंगले कानुनसम्मत निर्णय गर्नुपर्ने भएकाले अन्ततः हाम्रो पार्टी नै आधिकारिक पार्टी भएको कुरामा त कुनै विवाद छैन। र निर्वाचन आयोगले त्यो फैसला गर्ने छ भन्ने कुरामा पनि हामीलाई कुनै द्विविधा छैन। तर अनावश्यक ढिला गर्ने र आशंका पैदा गर्ने काम कुनै कोणबाट पनि नहोस् भन्ने हामी चाहन्छौं।'
उनले निर्वाचन आयोगले आइतबार गरिएको भनिएको निर्णयको आधिकारिक पत्रको प्रतीक्षा गरिरहेको बताए। त्यसपछि मात्रै पार्टीले औपचारिक धारणा सार्वजनिक गर्ने उनको भनाइ छ। निर्वाचन आयोगको आइतबार साँझ बसेको बैठकले कानुनी रुपमा नेकपा नफुटेको बताएको थियो।
श्रेष्ठले दलको ऐनले स्पष्ट गरेको सन्दर्भमा प्रारम्भमै निर्वाचन आयोगले सही ढंगले निर्णय प्रक्रियामा जानु उपयुक्त हुने बताए। 'त्यसो किन गरिएन भन्ने प्रश्चचाहिँ हाम्रो छ', उनले भने।
उनले निर्वाचन आयोगले छिट्टै र कानुनसम्मत निर्णय गर्नुपर्छ भन्ने आफूहरुको धारणा भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।