काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा तत्कालीन माओवादीका लडाकूहरुको ‘पूर्वजनमुक्ति सेना तथा बहिर्गमित बाल सेनाको संगठन’ सँग छलफल गरेपछि राजनीतिक माहोल तातेको छ।
१० वर्षसम्म ‘जनयुद्ध’ मा सहभागी भएका र शान्तिवार्तामा आएपछि बर्हिगमनमा परेका उनीहरुले आफूहरुलाई राज्यले नहेरेको भन्दै लामो समयदेखि गुनासो गर्दै आएका छन्। यसक्रममा उनीहरु आन्दोलनमा पनि उत्रिए। तत्कालीन माओवादी र एमाले एकीकरण भएपछि शान्त नै रहेका उनीहरुलाई अहिले तानातान सुरु भएको छ।
यही मेसोमा केही समयदेखि प्रधानमन्त्री ओलीले ‘जनयुद्ध’का लडाकूहरुलाई बेवास्ता गरेको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि सार्वजनिक रुपमै आलोचना गर्दै आएका थिए। दाहालले पनि ओलीलाई 'आमाको दुध चुसेर नपुगेर बाबुको घुँडो चुस्न लागेको' टिप्पणी गरेका थिए। यसरी सार्वजनिक रुपमा आरोप–प्रत्यारोप भइरहँदा ओलीले माओवादीका तत्कालीन लडाकूहरुसँग छलफल गरेर दाहाल पक्षलाई दबाब दिन खोजेको देखिन्छ। पुस ५ गते प्रतिनिधि सभा विघटनको निर्णयपछि नेकपाभित्र तानातान चलिरहँदा ओलीले केही पूर्वमाओवादी नेताहरुलाई मन्त्रीसमेत बनाएका छन्।
बिष्ट भन्छन्–प्रवेश गरेका हैनौं, छलफलमात्र हो
शनिबार प्रचण्ड–माधव पक्षधर नेकपाका केन्द्रीय सदस्य लीलबहादुर थापा, पूर्वलडाकू कमाण्डरहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओली, महासचिव विष्णु पौडेल, सुवास नेम्वाङ र विष्णु रिमालसहितको सामूहिक छलफलमा भाग लिएका थिए। पूर्वलडाकू संगठनका अध्यक्ष टुकबहादुर थापा (अर्जुन) र बहिर्गमित बाल सैनिक संगठनका लेनिन विष्टसहितले छलफलमा भाग लिएका थिए।
छलफलमा सहभागी विष्टले आफूहरुले प्रधानमन्त्रीसँग छलफल गरेको तर अहिले नै प्रवेश भने नगरेको बताए। ‘प्रधानमन्त्रीले पूर्वलडाकूहरुका बारेमा सरकारले राहत दिने भन्नु भएको छ,’ विष्टले भने ‘हामीसँगकाे छलफल सकारात्मक भएको छ, तर पार्टी नै प्रवेश चैं होइन।’
उनका अनुसार घाइते अपांग पूर्वलडाकूको उपचार सरकारले व्यहोर्ने गरी मन्त्रिपरिषदले निर्णय गरिसकेको भन्दै ओलीले अन्य काम पनि सरकारले गर्ने भएकाले आफ्नो पक्षमा लाग्न भनेका थिए
त्यस्तै पूर्वलडाकूलाई परिचयपत्र दिने र राज्यका विभिन्न निकाय तथा पार्टीका संरचनामा समायोजन गर्ने आश्वासन पनि ओलीले दिएका थिए। त्यस्तै सहिद परिवारमा ‘एक घर एक रोजगार’ का लागि पनि तत्कालै प्रक्रिया थाल्ने सहमति भएको उनले बताए।
प्रचण्डले आफूहरुलाई अलपत्र पारेर छोरीज्वाइँका लागि मात्र बार्गेनिङ गरेको आरोप पूर्वलडाकूहरुले लगाउँदै आएका छन्। ‘जनयुद्ध’ लाई कुहिएको फर्सी र अन्य विशेषणसहित आलोचना गरिरहेका ओलीले यसरी पूर्वलडाकूहरुलाई खोजी खोजी तान्ने प्रयास गरेकोमा भने धेरैले आश्चर्य प्रकट गरिरहेका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री तथा पार्टी अध्यक्षले पूर्वलडाकू्सँग भेटेर प्रचण्डले उनीहरुको भावनाको दुरुपयोग गरेको भन्दै आफूले योगदानको सम्मान गर्ने बताएको जानकारी दिए ।
‘जनयुद्ध अवधिमा तपाईंहरुले गरेकाे योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ,’ भेटमा ओलीको भनेका कुरा उल्लेख गर्दै थापाले भने, ‘नेतृत्वले तपाईंहरुकाे भावनाको दुरुपयोग गर्यो, यो तथ्य बुझेर तपाईंहरु अब नयाँ निष्कर्षमा आइपुग्नु सही हुने छ।’
ओलीले पूर्वलडाकू कमाण्डरहरुलाई राजनीतिक रुपमा उनीहरुको समस्या समाधान गर्ने भन्दै ढुक्क भएर आफू नेतृत्वको पार्टीमा सहभागी हुन आग्रह गरेका थिए। विगतमा प्रचण्डले दिएजस्तो धोका आफूले नदिनेसमेत उनले आश्वस्त पारेका थिए।
‘जनयुद्ध’ का बारेमा नकारात्मक टिप्पणी गरिरहे पनि उनैले सरकारको नेतृत्व गरिरहेकाले केही राहत पाउने आसमा आफूहरु बालुवाटार पुगेको एक पूर्वकमान्डरले बताए। ‘हामीले यो मुद्दा लामो समयसम्म उठाउँदा कतैबाट सुनुवाइ भएन, तर अहिले एक्कासी पार्टी विभाजन भएपछि तानातान भएको छ’ ती पूर्वलडाकूले भने, ‘कति साथीहरु त अहिले आर्थिक र शारीरिक रुपमा समेत समस्यामा भएकाले सरकारले राहत दिनुपर्ने कुरा भनेका छौं।’ उनीहरुले विगतका सरकारहरुलाई पनि दबाब दिँदै आएका थिए। पछिल्लो समय ओलीले बालकृष्ण ढुंगेल र कालीबहादुर खामजस्ता पूर्वमाओवादी नेताहरुका बारेमा चासो देखाउन थालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।