फाइल तस्बिर
काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा विघटन गर्ने केपी ओलीको निरंकुश कदमलाई प्रोत्साहित गरियो भने नेपालको शान्ति प्रक्रिया डिरेल हुने चिन्ता रहेको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै उनले ओलीको कदमले नेपालको शान्ति प्रक्रिया बिथोलिन सक्ने बताएका हुन्।
'म त फेरि युद्धमा जाने कुरा पनि छैन। फेरि हिंसामा जाने कुरा पनि छैन। शान्तिपूर्ण र बहुदलीय प्रतिस्पर्धाको कमिटमेन्टका साथ तीनतीनवटा चुनाव लडिसक्यौं। तर ओलीको कदम सही ठहरियो भने यसैगरी लाखौंलाख जनता सडकमा अपिल गरेर भए पनि गल्ती सच्याउने र निरंकुशता सच्याउने मेरो निरन्तर प्रयास हुने छ', उनले भने, 'तर केपीको निरंकुशतालाई प्रोत्साहित गर्ने काम भयो भने नेपालको शान्ति प्रक्रिया डिरेल हुन्छ भन्ने मलाई ठूलो चिन्ता छ।'
उनले देशमा फेरि हिंसा होस्, फेरि युद्ध होस्, फेरि अराजकता होस्, फेरि आतंकको स्थिति बनोस् भन्ने कसैले चाहेको छैन होला भन्ने विश्वास व्यक्त गरे। 'सम्मानित अदालतका सम्मानित न्यायाधीशहरु कोही पनि यो देशमा फेरि अराजकता, फेरि हिंसा चाहन्छन् भनेर म कल्पना पनि गर्न सक्दिनँ', उनले भने।
प्रचण्डले देशलाई बर्बाद हुने बाटोमा कसैले कुनै कारणले पनि भूमिका नखेल्न अपिल गरे। 'धेरै ठूलो मूल्य चुकाएर नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र र शान्ति प्रक्रिया प्राप्त भएको हो। लोकतन्त्र प्राप्त भएको हो', उनले स्मरण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।