काठमाडौं- कांग्रेसका कतिपय केन्द्रीय सदस्यहरु तथा वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रदेशको सत्ता समीकरणमा केपी ओली पक्षलाई साथ दिनुपर्ने कुनै कारण नभएको सुझाव दिएका छन्। शुक्रबार आफ्नै निवास बुढानिलकण्ठमा देउवाले डाकेको बैठकमा प्रदेशको सत्ता समीकरणबारे छलफल भएको हो। बैठकमा वरिष्ठ नेता पौडेलसहित बागमती प्रदेशका केन्द्रीय सदस्यहरु सहभागी थिए।
सभापति देउवाले प्रदेशमा मुख्यमन्त्रीको प्रस्ताव आएको जानकारी गराएका थिए। प्रदेश १ र बागमती प्रदेशमा नेकपाकै प्रदेश सभा सदस्यहरुले त्यहाँका मुख्यमन्त्रीहरु शेरधन राई र डोरमणि पौडेल विरुद्ध अविश्वास प्रस्ताव राखेका छन्। नेकपाका दुई पक्षहरु केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल पक्षले कांग्रेसको साथ खोजेका छन्। दुवै पक्ष एक प्रदेशमा मुख्यमन्त्री लिन र अर्कोमा सघाउन प्रस्ताव राखेको विषय देउवाले अवगत गराएका थिए। देउवा स्वयंले भने ओली पक्षको प्रस्तावमा रुची देखाएका छन्।
कांग्रेसका बहुसंख्यक प्रदेश सभा सदस्यहरु ओलीलाई समर्थन गर्नु हुँदैन भन्ने पक्षमा छन्। साथै, केन्द्रीय समितिका बहुसंख्यक पनि त्यही पक्षमा छन्। त्यस्तो अवस्थामा ओली पक्षलाई सहयोग गर्नुपर्ने एउटा पनि कारण नभएको आफूहरुले सुझाव दिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए।
बैठकमा सहभागी संस्थापन इतर समूहका नेताहरुले दुवै पक्षबाट उस्तै प्रस्ताव आएकोमा प्रचण्ड-माधव पक्षलाई सघाउनुपर्ने बताएका थिए। 'माधव पक्षले मुख्यमन्त्रीको प्रस्ताव नगरेको भए पो ओली पक्षमा जाँदा मुख्यमन्त्री पाइन्थ्यो भन्ने हुन्छ। तर उसले पनि सोही प्रस्ताव गरेको अवस्थामा ओली पक्षमा लाग्नु हुँदैहुँदैन भन्ने प्रस्ताव हामीले गर्यौं', ती केन्द्रीय सदस्यले भने।
देउवाले बैठकमा नेकपाका दुवै पक्षबाट आएको प्रस्तावबारे निर्णय लिने अधिकार प्रदेशको संसदीय दललाई दिने प्रस्ताव गरेका थिए। सभापति देउवाको प्रस्तावलाई रामचन्द्र पौडेलले प्रतिवाद गरेका थिए। 'संसदीय दललाई जिम्मा दिने दिऔं भनेर हुँदैन। यो राजनीतिक विषय हो। राजनीतिक लाइन हामीले दिनुपर्छ', उनको भनाइ थियो।
पौडेलको भनाइमा प्रकाशमान सिंह, नवीन्द्रराज जोशी तथा गगन थापालगायतले पनि समर्थन गरेका थिए। बैठकले प्रदेशको दलको बैठक बोलाउने र उनीहरुको रायका आधारमा छलफल गर्ने उपाय तय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।