काठमाडौं- महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र संवैधानिक इजलासमा पेस गरेका छन्। शुक्रबारको इजलासमा महान्यायाधिवक्ता खरेलले राजपत्र पेस गरेका हुन्।
बिहीबारको सुनुवाइका क्रममा अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशन नभएको भन्दै प्रश्न उठाएका थिए। त्यसपछि इजलासले महान्यायाधिवक्तालाई राजपत्रमा सूचना छ कि छैन भनेर प्रश्न गरेको थियो।
महान्यायाधिवक्ता खरेलले राजपत्र बुझाएपछि न्यायाधीश अनीललकुमार सिन्हाले बिहीबार आफूले खोज्दा राजपत्र नभेटेको बताएका थिए। उनले भने, ‘हिजो मैले राजपत्रका कुरा उठेपछि मागेको थिएँ। मेरो पिएलाई पनि खोज्न लगाएँ, अनलाइनमा तर भेटिएन।’
सरकारले बिहीबार साँझ मात्र राजपत्र प्रकाशन गरेको हो। महान्यायाधिवक्ताले शुक्रबार इजलासलाई राजपत्र दिँदै आफू काम विशेषले बिहीबार अफिस फर्केको बताए। सरकारले पुस ५ गतेकै मिति राखेर राजपत्र प्रकाशन गरेको हो ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।