काठमाडौं- बजारमा अधिक तरलता सिर्जना भएपछि बैंकहरुबीच निक्षेपको ब्याजदर घटाउने होडबाजी सुरु भएको छ। बैंकहरुले माघ महिनाका लागि जारी गरेको ब्याजदरको सूचीमा सबैभन्दा कम साधारण निक्षेपको ब्याजदर छ। तरलता अभाव हुँदा साधारण निक्षेपकै ५/६ प्रतिशतसम्म ब्याज दिने बैंकहरुले अहिले निक्षेपको ब्याजदर १.५ प्रतिशत कायम गरेका छन्।
ब्याज खर्च घटाउने क्रममा बैंकहरूले निक्षेपकर्ताको पैसामा आँखा लगाएका छन्। बैंकहरूले निक्षेपको ब्याजदर तीव्र रूपमा घटाए पनि त्यसको जानकारी सम्बन्धित निक्षेपकर्तालाई दिएका छैनन्।
सामान्यतया साधारण निक्षेपको ब्याजदर मूल्य वृद्धिदरभन्दा बढी हुनु पर्छ। सर्वसाधारणले आफ्नो निक्षेपबाट प्राप्त हुने आम्दानीले कम्तीमा पनि मूल्य बृद्धिलाई धान्न सक्नुपर्छ भन्ने मान्यता राखिन्छ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चौथो महिनाको मुद्रास्फीति ४.०५ प्रतिशत रहेको छ। तर धेरै बैंकहरुले साधारण निक्षेपकर्ताहरूलाई १.५ मात्र ब्याजदर दिने गरेका छैनन्।
मुद्दती निक्षेपको ब्याजदर पनि गएका वर्षमा १३ प्रतिशतसम्म पुर्याएका बैंकहरुले पछिल्लो समय ४ प्रतिशतभन्दा तल झारेका छन्। अधिकांश वाणिज्य बैंकहरुले छोटो अवधिको मुद्दति निक्षेपको ब्याजदर ४ प्रतिशतमा झारेका छन्। लामो अवधिको मुद्दती निक्षेपको ब्याजदर भने बढीमा ८ प्रतिशतसम्म छ। यस्तो ब्याजदर ३ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा मात्र दिने गरेका छन्।
बैंकहरुको उच्च नाफा गर्ने महत्वकांक्षाको मारमा भने निक्षेपकर्ता पर्ने गरेका छन्। बैंकहरुले निक्षेपको ब्याजदर लगातार घटाउँदै गर्दा आधार ब्याजदर भने खासै घटाएका छैनन्।
बैंकहरुले सार्वजनिक गरेको मुद्दती निक्षेपको ब्याजदर आधार ब्याजदरभन्दा बढी छ। खर्च घटाउन सबैभन्दा पहिला निक्षेपकर्ताको ब्याजदर घटाउने र एक महिनापछि मात्रै ऋणीको ब्याज घटाउने नेपाली बैंकको प्रवृत्ति छ।
नाफालाई मात्रै केन्द्रमा राखेर हेर्ने बैंकहरूले निक्षेपकर्ता र ऋणी दुवै पक्षलाई मर्कामा पार्ने गरेका छन्। दुई वर्ष अगाडि व्यवसायीले बैंकको कर्जाको ब्याजदर उच्च भयो भनेर आन्दोलन नै गर्नु परेको थियो। तर अहिले साधारण निक्षेपकर्ताको ब्याज आम्दानी घट्दा बोल्ने कोही पनि देखिँदैन। बजारमा अधिक तरलता सिर्जना भएको तर कर्जाको माग भने खासै नभएको भन्दै बैंकहरुले निक्षेपकर्ताको ब्याजदर मनलाग्दी रूपमा घटाएका हुन्।
एक वर्ष अगाडि एनआइसी एसियाले साधारण निक्षपकर्तालाई ४.५ प्रतिशत ब्याज दिन्थ्यो। तर अहिले जम्मा १.५ प्रतिशत मात्रै दिन्छ। त्यस्तै एक वर्ष अगाडि बैकले ९.५७ प्रतिशतसम्म मुद्दती निक्षेपमा ब्याज दिँदै आएको बैंकले अहिले जम्मा ६.६५ प्रतिशत मात्रै दिन्छ। एक महिनाको मुद्दती निक्षेपका स्किमसम्म ल्याएको एनआइसी एसिया अहिले सबैभन्दा बढी ब्याजदर घटाउने बैंक बनेको छ।
त्यस्तै नबिल बैंकले पनि निक्षेपको ब्याजदर १.५ प्रतिशतसम्म झारेको छ। बैंकले मुद्दती निक्षेपमा अधिकतम ६.५ प्रतिशतसम्म दिएको छ। छोटो अवधिको मुद्दती निक्षेपको ब्याजदर ३ प्रतिशतसम्म झारेको छ। बैंकमा एक वर्ष अगाडि साधारण निक्षेपको ब्याजदर ३.७५ थियो। इन्भेस्टमेन्ट बैंककले सबैभन्दा कम २ प्रतिशत र मुद्दती निक्षेपमा ७.२५ प्रतिशत ब्याजदर दिएको छ।
एक वर्षको अवधिमा बैंकहरुको निक्षेप संकलन २१.६ प्रतिशतले बढ्दा कर्जा लगानी १६ प्रतिशत बढेको छ। यसले गर्दा बजारमा अधिक तरलता सिर्जना भएको र बैंकहरुले ब्याजदर घटाइरहेका छन्।
नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको औषत आधार ब्याजदर २०७६ मंसिरमा ९.४६ प्रतिशत थियो। गत मंसिर महिनामा यस्तो ब्याजदर घटेर ७.३६ प्रतिशत रहेको छ। मंसिरमा बैंकहरुको भारित औषत ब्याजदर ५.१४ प्रतिशत र कर्जाको भारित औषत ब्याजदर ९.३७ प्रतिशत छ।
माघ महिनामा वाणिज्य बैंकहरुको निक्षेप तथा आधार ब्याजदर
वाणिज्य बैंक | माघ महिनाका लागि जारीब्याजदर (%) |
साधारण निक्षेप | मुद्दती निक्षेप | आधार ब्याजदर |
एनआईसी एसिया | 1.5 | 6.5 | 6.65 |
नबिल बैंक | 1.5 | 6.5 | 6.12 |
नेपाल इन्भेस्टमेन्ट बैंक | 2 | 7.25 | |
कृषि विकास बैंक | 3.5 | 9.5 | 8.48 |
स्ट्यान्डर्ड चार्टर्ड बैंक | 2 | 6 | 6.61 |
एभरेस्ट बैंक | 2 | 7 | 6.5 |
नेपाल बैंक | 2.5 | 7 | 6.81 |
राष्ट्रिय वाणिज्य बैंक | 2.5 | 7 | 5.74 |
सिभिल बैंक | 3 | 8 | 8.88 |
कुमारी बैंक | 2 | 7 | 8.01 |
सेञ्चुरी बैंक | 2.5 | 7.5 | 8.47 |
ग्लोबल आइएमई | 2 | 7 | 7.25 |
प्रभु बैंक | 2 | 7.5 | 7.39 |
माछापुच्छ्रे बैंक | 2 | 7 | |
सिद्धार्थ बैंक | 2 | 7 | 7.56 |
मेगा बैंक | 2 | 7 | 7.59 |
प्राइम बैंक | 3 | 8 | 8.12 |
नेपाल एसबिआई बैंक | 3 | 5.6 | 7.93 |
हिमालयन बैंक | 2 | 7.25 | |
सनराइज बैंक | 2 | 7 | 7.24 |
एनएमबी बैंक | 3.1 | 8 | |
एनसिसी बैंक | 3 | 7.5 | 8.63 |
लक्ष्मी बैंक | 2 | 7 | 7.74 |
नेपाल बंगलादेश बैक | 2.75 | 7.25 | |
सिटिजन्स बैंक | 2.5 | 7 | 8.44 |
सानिमा बैंक | 4 | 6.5 | 6.9 |
बैंक अफ काठमाण्डू | 2 | 7 | 7.67 |
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।