काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पनि हिरासतमै रहने भएका छन्।
आज थुनछेक बहस नसकिएपछि न्यायाधीशले उनलाई प्रहरीसँगै पठाउने आदेश गरे।
लामिछानेले आफूलाई थुनामा नपठाउन अपिल गरेका थिए। थुनछेक बहसका क्रममा बोल्दै उनले आफैं अदालतमा आउने प्रतिबद्धता जनाएका थिए, तर न्यायाधीश माधवप्रसाद अधिकारीले प्रहरीकै जिम्मा लगाउन आदेश दिएका हुन्।
रवि अब आज र भोलि हिरासतमै रहनेछन्। भोलि सरकारी बिदा रहेका कारण अदालत नखुल्ने भएकाले पर्सिमात्रै थुनछेकको बाँकी बहस हुनेछ।
सरकारी वकिलहरुले बहस गर्दै रविलाई थुनामै पठाउन माग गरेका थिए। उनीहरुले रवि गोर्खा मिडियाको सेयर होल्डर भएकाले सहकारीबाट ल्याइएको पैसामा उनी पनि जिम्मेवार रहेको जिकिर गरेका छन्।
लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।