चितवन– जिल्लाको माडीमा भैंसी चराउन गएका चार जनालाई गैंडाले आक्रमण गरेको छ।
माडी नगरपालिका- ३ का चार पुरुषलाई आज दिउँसो गैंडाले आक्रमण गर्दा भैंसी चराउन गएका ५६ वर्षीय छविलाल बोटको घटनास्थलमै मृत्यु भएको हो।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तका अनुसार निकुञ्ज क्षेत्रमा भैंसी चराउन गएका चार जनालाई गैंडाले आक्रमण गरेको थियो। गैंडाको आक्रमणमा पर्ने अन्य तीन जनामा माडी नगरपालिका- ३ घर भएका ५० वर्षीय हेमराज महतो, ६८ वर्षीय कृष्ण महतो र ४५ वर्षीय राजु बोट रहेका छन्।
उनीहरुमध्ये हेमराज महतो र राजु बोटको शरीरमा चोटपटक लागेको छ। उनीहरुलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर ल्याइएको छ। राजु बोटको अवस्था सामान्य भएकाले उनलाई भने घर पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।