काठमाडौं- बैंकिङ क्षेत्रको तरलता व्यवस्थापन नेपाल राष्ट्र बैंकको नियन्त्रणमा लिन सकेको छैन। राष्ट्र बैंकले अहिले बजारबाट ८० अर्ब रुपैयाँ खिच्दा पनि बजारमा अझै १ खर्ब ३६ अर्बको अधिक तरलता रहेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा गुणाकर भट्टले जानकारी दिए। यो अनिवार्य नगद मौज्दात (सिआरआर) बाहेकको रकम भएकाले बैंकहरूले चाहेमा सबै लगानी गर्न सक्छन्। राष्ट्र बैंकले खिचेको रकमसहित अधिक तरलता २ खर्ब १६ अर्ब रुपैयाँ रहेको छ।
राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्दा बैंकहरुले ७८ अर्ब रुपैयाँको लागि आवेदन दिएका थिए। विभिन्न उपकरणमार्फत् राष्ट्र बैंकले बजारबाट ८० अर्ब रुपैयाँ खिचेको हो। पुस १६ गते राष्ट्र बैंकले २८ दिन अवधिको निक्षेप संकलन उपकरण मार्फत २० अर्ब रुपैयाँ तानेको थियो।
बैंकहरूसँग ३७ खर्ब ५६ अर्ब रुपैयाँ भन्दा बढि निक्षेप रहेको छ। साथै बैंकहरुले ३१ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालका अनुसार पछिल्लो समय बैंकहरुमा कर्जाको माग राम्रो रहेको छ। निक्षेपको तुलनामा कर्जा प्रवाह पनि भैरहेको छ। तर कोभिड १९ को रोकथाम तथा नियन्त्रण गर्ने क्रममा सरकारले लकडाउन गरेको समयमा कर्जा प्रवाह ठप्प भएको थियो। तर वैदेशिक रोजगारीमा गएका नेपाली तथा विदेशीमा पढ्न गएका विद्यार्थीले पठाउने रेमिट्यान भने लगातार बढ्दा निक्षेप थप बढेको हो।
साथै राष्ट्र बैंकले कोभिड प्रभावितहरुका लागि उपलब्ध गराउने पुनरकर्जा बापत ६४ अर्ब रुपैयाँ बैंकहरुले एकमुष्ठ रुपमा लगेका छन्। यसका साथै बैंकहरुले ६२० अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरिसकेका छन्। यसबाट पनि बैंकहरुले राज्यबाट सहुलियतको ब्याज प्राप्त गर्छन्। यसले बैंकहरुको कर्जा तथा निक्षेपको दुवै अंक बढेको छ।
पुनर्कर्जा उनिहरुको ब्याज तथा सावा भुक्तानीका लागि राष्ट्र बैंकले सरल ब्याजदरमा उपलब्ध गराएको हो।
तर बैंकहरुमा ठुलो ठुलो ऋणको माग भने हुन सकिरहेको छैन। सामान आयात गर्न व्यापारीहरुले एलसी खोल्ने बाहेक खासै अन्य क्षेत्रबाट कर्जाको माग हुन सकिरहेको छैन। कोभिड-१९ का कारण सर्वसाधारणहरुले पनि खर्च भन्दा निक्षेपलाई प्राथमिकता दिन थालेका छन्। नेपालीहरुले पहिलाको जस्तो खर्च नगरि बचत बढि गर्दा बैंकहरुमा निक्षेप थुप्रिरहेको प्रभु बैंकका अशोक शेरचन बताउँछन्।
यदि सरकारले विकास खर्च बढाउने हो भने बजारमा थप पैसा आउने उनको तर्क छ। यसले बजारमा थप तरलता प्रभाव हुन मद्दत गर्छ। बजारमा तरलता बढ्दै गर्दा वास्तविक ऋणीभन्दा पनि विचौलियाले बढि फाइदा लिन सक्छन्। यस्तो समयमा अनुत्पादनमुलक क्षेत्रमा कर्जा जाने जोखिम उच्च भएकाले सरकारले सकेसम्म तरलता व्यवस्थापन गर्न खोजिरहने राष्ट्र बैंकका भट्ट बताउँछन्।
एक वर्षअघिदेखि नै बजारमा अधिक तरलता थुप्रिन सुरु भएको थियो। निर्माण जन्य सामाग्री कम्पनीहरुले माग नै आउन छाडेको भन्दै कर्जाको माग गर्न छाडिसकेका थिए। अर्कोतर्फ माग कम हुँदा सावाँ र ब्याज भुक्तानीमा कठिनाइ भएको बताउँदै आएका थिए।
तर केही समयदेखि निर्माणजन्य सामाग्री उदारोमा बिक्री हुन छाडेको व्यवसायीहरुले बताउन थालेका छन्। बैंकिङ कर्जा धेरै नै तल्लो बिन्दुमा झरेकाले मानिसहरू घर बनाउन थालिरहेका छन्। यसले बैंकहरुमा खुद्रा कर्जाको भने केही माग बढ्न सक्छ। तर दीर्घकालीन ठूला ठूला पूर्वाधार तथा आयोजना बन्नका लागि थप कर्जा आवश्यक नपरुन्जेल बैंकहरुमा अधिक तरलता थुप्रँदै जाने बैंकहरहरु बताउछन्। बजारमा अधिक तरलता बढिरहेकाले अझै केहि समय बैंकिङ ब्याजदर बढ्न नसक्ने बैंकर्स संघका अध्यक्ष दाहाल बताउछन्।
ब्याजदर तल्लो बिन्दुमा झर्दा शेयर बजार तथा घरजग्गाका बिचौलीयालाई सबैभन्दा बढी लाभ पुग्छ। यदि यस्तो अनुत्पादनमुलक क्षेत्रमा कर्जा जान सक्ने अवस्था रह्यो भने पुनः नेपाल राष्ट्र बैंकको टाउको दुखाइको विषय बन्न जान्छ। यसले गर्दा पछिल्लो समय बैंकिङ तरलता नेपाल राष्ट्र बैकको नियन्त्रणभन्दा बाहिन जान थालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।