करिब नौ महिनासम्म अँध्यारो छाएको शिल्पी नाटकघरमा आइतबार प्रकाश छिर्यो। प्रकाश छिरेसँगै मञ्चमा ६ जना किशोरीहरु उभिएर एकालाप गरे।
गरिब हुनुको पीडामा सुनिइन् कलाकार पवित्रा खड्का। उनले गरिब हुँदा अन्य मानिसले हेर्ने नजर र गर्ने व्यवहारबारे दुखेसो पोखिन्। रंगभेदको व्यथा पोखिन् कलाकार संगिता उराउले। उनले कालो छाला र गोरो छालामा लुकेको अन्तरलाई देखाउने प्रयास गरिन्।्
'छोटो पहिरनले युवती बलात्कृत हुने सोच बोकेको नेपाली समाजमा कोक्राको बालिकालाई पनि लुछ्न किन छोडेन गिद्धले?' कलाकार सुमित्रा लामिछानेले प्रश्न सोधिन्।
कलाकार नम्रता अर्यालले लिंगको आधारमा गरिने विभेदबारे आवाज उठाइन्। अर्यालले पुरुष भएकै कारण पाउने अवसर र महिला भएकै कारण गुमाएका रहरका बारेमा खुलस्त पारिन्।
सुहाना आचार्य 'कसैलाई मोटी, कसैलाई दुब्ली भनेर हेप्न पाइन्छ?' भन्दै मानिसको शरीरलाई हेरेर बोलिने वाक्य र बडी सेमिङमाथि बम्किइन्।
कलाकार साहिना भट्टराइले जातीय विभेदमा जकडिएको आधुनिक नेपाली समाजको भण्डाफोर गरिन्। मान्छे भएर मान्छेसँग चोखिनुपर्दाको नमिठो सत्यलाई प्रकाश पार्ने उनको कोशिस थियो।
लामो समयसम्म बन्द नाटकलाई ब्युँताउन शिल्पी थियटरले पहिलो चरणको ट्रायलस्वरुप नाटक ‘६ पात्रको एकालाप’ मञ्चन गर्यो।
आइतबार बिहान १० बजेदेखि मञ्चित नाटक घिमिरे युवराजको लेखन तथा निर्देशनमा तयार भएको थियो।
करिब ५० जनाले नाटक हेरे। स्वास्थ्य तथा सुरक्षालाई ध्यानमा राख्दै मञ्चित नाटक हेर्ने दर्शकले २५ प्रतिशतमात्रै ओगटेका थिए। सरकारको मापदण्डअनुसार मास्क, सेनिटाइजर र सामाजिक दूरी कायम गरेर नाटक मञ्चन गरियो।
यसले नाटकघरको नौ महिने अन्धकारलाई थोरै भए पनि उज्यालो बनाएको बताए नाट्य लेखक तथा निर्देशक घिमिरे युजवराजले।
रत्नराज्य क्याम्पसका विद्यार्थी र कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थीले पहिलो ट्रायल सो हेरे। यसबाट आएको प्रतिक्रियाअनुसार, नाटकघरलाई कसरी अगाडि बढाउने भन्ने छलफल गरिरहेको पनि युवराजले बताए।
केही दिनमा अरु नाटकहरु पनि ट्रायल गर्ने बताउँदै उनले भने, 'अहिले त यसो के कसो छ भनेर चिहाएको मात्रै हो, पूर्ण रुपमा नाटकघर चल्न त ५ या ६ महिना अझै लाग्छ।'
मनोरञ्जन क्षेत्र चलायमान हुनु आजको आवश्यकता हो, युवराजले भने, मानिसहरुको मानसिक स्वास्थ्यका लागि पनि नाटकघर, फिल्म हल, चित्रकला प्रदर्शनी र सांगितिक महोत्सवलाई सरकारले प्राथमिकता दिनुपर्छ।
मानिस भनेका अजिवका प्राणी हुन् भन्दै युवराज भन्छन्, 'सधैं घर र आफ्ना मान्छेसँग बस्दा हामी निसास्सिन्छौं र सास फेर्ने ठाउँ खोज्छौं। ब्रिदिङ स्पेस खोज्दै जाँदा सबैभन्दा उत्तम थलो भनेकै मनोरञ्जन क्षेत्र हुन्।’
देशमा साथीभाइ भेला भएर गफ गर्ने पब्लिक स्पेस् अर्थात् सार्वजनिक थलोको समेत अभाव भएको उनको भनाइ छ।
नाटकघरको वरपर हेर्दै उनले भने, ‘हामीले नाटकघरको चियापसल मात्रै खोले पनि साथीभाई आउने, गफगाफ गर्ने, छलफल गर्ने ठाउँ त भयो नि।’
उनले भने, ‘काठमाडौंमा एउटा मात्रै चिडियाघर छ। लामो समयपछि अहिले खुलेको छ। अन्य ठाउँको अभावले गर्दा मनोरञ्जनका लागि बच्चा लिएर जाने ठाउँ भनेको सबैका लागि त्यही एउटामात्रै भयो। यसले झनै भीडभाड बढ्ने र सरकारलाई थेग्न गाह्रो हुन्छ।’
त्यसो त पुस १९ गते आइतबार बसेको कोभिड रोकथाम उच्चस्तरीय समितिको बैठकले मनोरञ्जन क्षेत्रलाई पनि खोल्ने अनुमति दिएको छ। तर यो निर्णय आउनुपर्नेभन्दा निकै ढिला गरी आएको मनोरञ्जन क्षेत्रका मानिसहरु बताउँछन्।
यही विषयमा युवराज भन्छन्, ‘हामीले नाटकघरलाई चलाउन निकै कोशिस गर्यौँ। नाटकको सबै अधिकार पाएको प्रज्ञा प्रतिष्ठानसँग तीन पटक बैठक बसे पनि कुनै नतिजा हात नलागेको पनि उनले बताए।
‘राज्यको चरित्र खराब भयो,’ उनले भने, ‘प्रज्ञा प्रतिष्ठानसँग कुरा गर्दा संस्कृति मन्त्रालय जाऊ भन्छन्, मन्त्रालय गयो, प्रतिष्ठान जाऊ भन्छन् हामी यता न उताका भयौं।’
महामारीको समयमा अभिभाकत्व ग्रहण गर्नुपर्ने संस्थाहरु नै बच्चा भएको उनको गुनासो गरे।
सरकारले जानेदेखि, केही समयका लागि मनोरञ्जन क्षेत्रलाई लगानी गर्नुपर्ने पनि उनले बताए। उनले भने, ‘हामीसँग चित्रकारहरु छन्, उनीहरुलाई घुम्ने खर्चमात्रै दिएर चित्र बनाऊ भने पनि खुसी हुन्छन्।’
युवराजले सल्लाह दिँदै भने, ‘त्यस्ता पेन्टिङको एक्जिबिसन गर्दा मान्छेको मुहारमा सकारात्मक मुस्कान ल्याउँछ।' बीचमा रोकिँदै उनले भने, ‘हुन त सरकारले पेन्टिङ नै बुझ्दैन, के काम!’
सरकारको तर्फबाट केही सहयोग नपाए पनि उनिहरुले पहिलो लकडाउन सकिएदेखि नै नाट्य क्षेत्रका काम भने जारी राखिरहे। पाटनमा २ ओटा, माइतीघर मण्डलामा २ ओटा र बत्तिसपुतलीमा एउटा सडक नाटक शिल्पी थियटरले गरेको युवराजले बताए। उनले भने, ‘हामी नाटकका मान्छेहरुले त अभ्यास गरिरहनुपर्छ, लामो समयसम्म केही नगरी बस्यो भने त फेरि सुरुदेखि सुरु गर्नुपर्छ।
सुरुदेखिका कुरा गर्दा उनको अनुहारको भावभंगी गम्भीर देखियो।’ उनले नाटकमा काम गर्ने कलाकारको चिन्ता गरे।
नाटकमा काम गरेर पहिले पनि खान पुग्दैन थियो, उनीहरुले अरु क्षेत्रमा पनि काम गर्नुपर्थ्यो। युवराजले भने, ‘पहिले कोही रेडियोमा काम गर्थे, फिल्म खेल्थे र मिलाएर नाटकलाई समय दिन्थे। लकडाउनमा यी सबै क्षेत्रमा काम भएन। जसले गर्दा उनीहरू भोको हुनुपरेको बताउँदै युवराजले भने, ‘अझै पनि शिल्पीका ४ जना कलाकार गाउँमै छन्।’
काम नभएपछि अन्य संघसंस्थाले पनि सहयोग नगर्ने तितो यथार्थ सम्झँदै युवराजले भने, ‘हामीले प्रज्ञा प्रतिष्ठानलाई मिलेर सहकार्य गरौं, तिमी पनि पालिन्छौ हामीलाई पनि केही सहयोग हुन्छ भनेको मानेन।’
शिल्पी थियटर बाहेक अन्य थियटरले भने डिजिटल माध्यमलाई उपयोग गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।