काठमाडौँ- मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट संसद् विघटन भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको तहमा पुगेको छ। एक पक्षले अर्को पक्षलाई कारबाही पनि गरिसकेका छन्। प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल खेमामा विभाजित नेकपा यतिबेला भने एक अर्को पक्षबाट नेता तानातानमा उत्रिकएको छ।
संसद् विघटन गरिएकै दिन (पुस ६ गते) पार्टीका केन्द्रीय सदस्य प्रभु साहले सामाजिक सञ्जाल फेसबुकमा संसद् पुर्नस्थापना गर्नु आत्मघाती हुने टिप्पणी गरेका थिए। फेसबुकमा स्टाटस छोडेपछि प्रचण्डको निवासमा नै पुगेर साहले छलफल समेत गरेका थिए। प्रचण्ड-नेपाल पक्षले बोलाएको पहिलो बैठक(पुस ७ गते)मा सहभागी भएका साह आफ्नै पक्षमा रहेकोमा प्रचण्ड-नेपाल ढुक्क थिए। उक्त बैठकमा साहले संसद् पुर्नस्थापनाको आलोचना गर्दै कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्ने टिप्पणी गरे। त्यति मात्रै होइन, नेपाललाई अध्यक्षको प्रस्ताव गर्नु उचित नहुने भन्दै तिखो आलोचना समेत गरेका थिए।
पुस ९ गते प्रचण्ड-नेपाल पक्षले बोलाएको बैठकमा साह फेरी गायब भए। बैठकमा अनुपस्थित भएका साहले दुई अध्यक्षात्मक प्रणाली अस्विकार गरौँ भन्दै विज्ञप्ति जारी गरेर चुपचाप बसे। साह प्रचण्ड-नेपाल पक्षले बोलाएको बैठकमा अनुपस्थित भएपछि ओली पक्षले बोलाएको बैठकमा सहभागी भएको आँकलन गरियो। तर, दुवै पक्षको भेलामा अनुपस्थित भई साहले अवसरको लेखाजोखामा लागे।
कुन पक्षको साथ लिने भन्नेबारे साहले विमर्श गरिरहेकै थिए। यसैबीच आफूलाई साथ दिन प्रचण्डले बैठकको दोस्रो दिन फेरि निवासमै बोलाएर साहसँग छलफलसमेत गरे।
प्रचण्ड खेमालाई सहयोग पुग्ने स्टाटस लेखेको चार दिन नबित्दै प्रधानमन्त्री ओली पक्षले साहलाई आफ्नो कित्तामा तानिहाल्यो। ओली खेमाले साहलाई मन्त्री पदको पुरस्कार दियो। ओली पक्षमा पुगेका साह सहरी विकास मन्त्री बनेका छन्। मन्त्री बनेपछि प्रचण्डसमेत आश्चर्यमा परेको पूर्व माओवादी समूहका एक नेताको भनाइ छ।
मन्त्री नबनाइएपछि छक्कले छक्याए
हुम्लाका सांसद छक्कबहादुर लामा पनि मन्त्री बन्ने प्रलोभनमा ओली पक्षबाट केन्द्रीय सदस्य भए। केन्द्रीय सदस्य पाएपनि मन्त्रिपरिषद् पुर्नगठन हुँदा आफू मन्त्री नहुने निश्चित भएपछि पुस ९ गते विज्ञप्ति जारी गरी केन्द्रीय सदस्य परित्याग गरेको घोषणा गरे। ओलीले मन्त्री बनाउने आवश्वान दिएपनि अन्तिममा गौरीशंकर थारूले मन्त्री बन्ने पक्का भएपछि छक्कबहादुरले ओलीलाई छक्याएर प्रचण्ड कित्तामा उभिएका छन्।
लामाले मन्त्री पद नपाएपछि छक्क प्रचण्ड-नेपाल पक्षमै लागेका छन्। प्रचण्ड-नेपाल कित्ताका थारु मन्त्री भएपछि उनको गृह जिल्लाबासी केही नेताले विरोधसमेत गरेका थिए। ओलीले लामालाई छक्याएर थारूलाई मन्त्री बनाएपछि उनी प्रचण्ड कित्तामा लागेका हुन् ।
यस्तै सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा‘बादल’ संसद् विघटनको केही समयसम्म ओली र प्रचण्ड–नेपालको तानातानमा परे। ओली र प्रचण्ड–नेपाल पक्षले पुस ७ गते केन्द्रीय कमिटी बैठक गर्दासमेत बादल मझधारमै बसे। उनले मझधारमै बसेर सत्ताको अंकगणितको आँकलन गरिरहेका थिए। ओलीले संसद् विघटन गर्नुअघि पुस ४ गते बादललाई मन्त्रिनिवासमै गएर पार्टी बैठकको प्रतिवेदन लेख्न आग्रह गरेका थिए।
बादल बालुवाटारको पक्षमा उभिने संकेत पाएपछि बादल निकट ३७ केन्दीय सदस्यमध्ये २३ जनाले पुस ६ गते भेटेर प्रचण्डलाई साथ दिन आग्रह गरेका थिए। बैठकमा सहभागी भएका २४ मध्ये २३ जनाले ओलीलाई साथ दिए आफूहरुले बादललाई साथ दिन नसक्ने स्पष्ट पारेका थिए।
बादललाई प्रचण्ड-नेपाल कित्तामा उभ्याउन प्रचण्डले पनि गत पुस ७ र ८ गते पुल्चोक धाएर प्रयास गरेका थिए। प्रचण्डलाई साथ दिने संकेत दिएपनि ओली नेतृत्वको पार्टीमा दोस्रो वरीयता पाउने आवश्वासन पाएपछि ओलीतिर लागेका हुन्।
अवसरको तानातानमा परेका बादल प्रचण्ड-नेपाल पक्षमा गृहमन्त्री पद गुमाउनुपर्ने, पार्टीमा छैठौँ वरीयता पुग्ने भएपछि प्रचण्ड छोडेका हुन्। तर, ओली पक्षमा लाग्दा गृहमन्त्री पद जोगिनुका साथै दोस्रो वरीयता पाउने आवश्वासन पाएपछि बालुवाटार कित्ता बादल पुगेको उनी निकट स्रोतले बताएको छ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिले केपी ओलीतिर गएका कतिपय नेता वैशाखमा आफूतिर फर्किने बताएका छन्। राजधानीको एक कार्यक्रममा पार्टी विवादमा यतायता भएपछि पछि मूलघरमै फर्किने प्रचण्डले बताए। ‘केही साथीहरू क्षणिक स्वार्थका निम्ति, लोभका निम्ति जानुभएको छ। ती साथीहरू पहिलेपहिले पनि जाने गरेकैहरुमा पर्छन्। उनीहरु अहिले मात्रै गएका होइनन्। ती जानेबुझेका मान्छे पर्छन्। तपाईंहरु त्यसमा टेन्सन नलिनुहोला,' प्रचण्डले भने, 'ती फेरि आउँछन् भन्ने देख्छु म। दुई चार महिना हेर्नुहोला, वैशाखपछि आउँछन्। जाने ठाउँ नै बाँकी रहँदैन विचरा। आए भने हामी क्षमा दिन सिपालु छौं। दिइहाल्छौं।’
तानातानमा पूर्वमाओवादी बढी
दुवै पक्षको तानातानमा पर्नेमा पूर्वएमालेभन्दा धेरै पूर्व माओवादी समूहका नेता धेरै छन्। पूर्वएमाले समूहमा ओली र नेपाल समूह सुरुदेखि नै कित्ता क्लियर भएपनि त्यो संख्या न्यून छ। यसरी तानातान पर्नेमा केन्द्रीय नेता मात्रै होइन, प्रदेश, जिल्ला र स्थानिय नेताहरु पनि पर्न थालेका छन्। नेता आफ्नो पक्षमा पार्न ओली र प्रचण्ड-नेपाल पक्षले भेटघाट छलफल र भेलालाई तीव्र पारेका छन्। आफ्नो पक्षमा नेता कार्यकर्ता पार्न प्रचण्ड-नेपाल पक्षले पुस १४ गते उपत्यकामा आमसभा गर्ने भएको छ।
ओली पक्षले सत्ता र शक्तिको प्रलोभनमा नेता कार्यकर्तालाई आफ्नो पक्षमा पार्ने प्रयासमा निरन्तर लागेको छ। अदालतदेखि निर्वाचन आयोगबाट आफू अनुकुल निर्णय हुने ओली पक्षको दाबी छ। केही नेता कार्यकर्तालाई यही प्रलोभनमा पारेर आफ्नो पार्टी ठूलो बन्ने उनीहरुको दाबी छ।
प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्रीलाई काम गर्न नदिएकाले ताजा जनादेशमा जानुपर्ने भन्दै ओली पक्षको भनाइ छ। प्रचण्ड–नेपाल पक्षले ओलीले संसद् विघटन गरेको, विधिविधान नमानेको र पार्टीलाई वैचारिक रुपमा नेतृत्व गर्न नसकेको आरोप लगाउँदै आफ्नो पक्षमा नेता कार्यकर्ता तान्न तल्लीन छन्।
प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य बेदुराम भुसालले पार्टीमा विचार र राजनीतिक रुपमा नेता कार्यकर्तालाई आफ्नो पक्षमा पार्न कुनै गाह्रो नहुने बताए। प्रधानमन्त्रीले पार्टीभित्रको अन्तरविरोधलाई संसद् विघटन गरेर संविधान र लोकतन्त्र विरोधी कदम चालेको आरोप लगाए।
‘ओलीको संसद् विघटन गर्ने कदमले लोकतन्त्रमाथि हमला गर्यो। संविधानमाथि हमला गर्यो,’ भुसालले भने, ‘प्रधानमन्त्रीले चालेका कदमले कम्युनिस्ट आन्दोलन समाप्त गर्ने खालका छन्। कम्युनिस्ट पार्टी जस्तो चलाउनु भएन।’ कम्युनिस्ट पार्टीमा अध्यक्षले केन्द्रीय सदस्य मनोनित गर्ने परम्परा नै नभएको भुसालले दाबी गरे।
ओली पक्षका नेता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले भने ताजा जनादेशमा जानुको विकल्प नभएको बताएका छन्। संसद् पुनर्स्थापना भए अस्थिरता निम्तिने उनको भनाइ छ। 'पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीलाई काम गर्न नदिएकाले प्रधानमन्त्रीले बाध्य भएर संसद् विघटनको कदम चाल्नु भएको हो। अब ताजा जनादेशमा जानुको विकल्प छैन,' नेता गुरुङले भने, 'यो सबै कुरा बुझेर साथीहरू हाम्रो पक्षमा आउने लहर नै चलेको छ। संसद् पुनर्स्थापना भयो भने देशमा अस्थिरता निम्तिन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।