काठमाडौं-चिनियाँ अर्थतन्त्रले सन् २०२८ सम्ममा अमेरिकी अर्थतन्त्रलाई उछिन्ने एक अध्ययनले जनाएकाे छ। शनिबार सार्वजनिक भएको एक अध्ययनले अमेरिकालाई उछिन्दै चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने जनाएकाे हाे।
सेन्टर फर इकोनोमिक्स एण्ड बिजनेस रिसर्च(सिइबिआर)ले प्रकाशित गरेको प्रतिवेदनअनुसार कोरोना भाइरस रोकथाममा यी दुई देशले देखाएको प्रतिक्रियाले यस्तो नतिजाको प्रक्षेपण गरिएकाे हो।
प्रतिवेदनमा केही समयदेखि दुवै देशबीच अर्थतन्त्र र सफ्टपावरको शक्तिसंघर्ष मुख्य रुपमा चलिरहेको उल्लेख छ। यसअघि सन् २०३२ मा चीन विश्वको एक नम्बर अर्थतन्त्र हुने प्रक्षेपण गरिएको थियो।
सिइबीआरले कोरोना रोकथाममा चीनले सुरुमै अपनाएको कडा लकडाउनसहितको कुशल व्यवस्थापन र कोरोनाका कारण पश्चिमा देशले भोग्नुपरेका कारण चिनियाँ अर्थतन्त्र छिट्टै लयमा फर्किएको उल्लेख गरेको छ। आर्थिक सुस्तताले पश्चिमा देशहरुको दीर्घकालिन वृद्धिमा पारेको प्रभाव जस्ता कारणले तुलनात्मकरुपमा चीनको आर्थिक प्रदर्शनलाई सुधारेको दाबी अध्ययनले गरेको छ।
प्रतिवेदनले सन् २०२६ देखि ३० सम्म ४.५ प्रतिशतमा सुस्त हुनुअघि चीनको औसत आर्थिक वृद्धिदर सन् २०२१ देखि २५ सम्म प्रति वर्ष ५.७ प्रतिशत रहने जनाएको छ। यस्तै आगामी वर्ष कोरोनाका कारण थलिएको अमेरिकी अर्थतन्त्र पुनः लयमा फर्किने ठानिए पनि सन् २०२२ र २०२४ को बीचमा वार्षिक वृद्धिदर १.९ प्रतिशतले कम हुने र त्यसपछिका वर्षमा वार्षिक वृद्धिदर १.६ हुने अनुमान गरिएको छ।
यस्तै सन् २०३० को सुरुसम्म जापान डलरका हिसाबले तेश्रो ठूलो अर्थतन्त्र रहने र त्यसपछि भने भारतले उछिन्नेछ। जर्मनी चौथो ठूलो अर्थतन्त्र भएको मुलुकबाट पाँचौमा पुग्ने अनुमान छ। हाल विश्वको पाँचौ ठूलो अर्थतन्त्र रहेको संयुक्त अधिराज्य (बेलायत) सन् २०२४ मा छैटौं स्थानमा झर्ने सिइबीआरको प्रतिवेदनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।