काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको ‘सेकेन्ड म्यान’ हुने गरी राम बहादुर थापा बादलले कित्ता क्लियर गरेका छन्। पूर्वमाओवादीका नेता बादल पार्टी ध्रुवीकरण भएपछि कुनै पक्षको बैठक र भेलामा सहभागी भएका थिएनन्। तर, प्रचण्ड-नेपाल समूहका मन्त्रीहरुले राजीनामा दिँदा वर्तमान सरकारका गृहमन्त्री उनले दिएका थिएनन्।
दुवै गुटका भेलामा सहभागी नभएका बादल ओली नेतृत्वको नेकपामा सहभागी हुने उनको सचिवालय स्रोतले जानकारी दिएको छ। ओली निकट स्रोतका अनुसार उनी दोस्रो वरीयतासहित ओली नेतृत्वको नेकपामा सहभागी हुन लागेका हुन्।
'बादल कमरेडले आज प्रधानमन्त्री एवं पार्टी अध्यक्षसँग भेटवार्ता गर्नुभयो। गृहमन्त्रीबाट राजीनामा दिनु भएको पनि छैन,' ओली निकट स्रोतले भन्यो, 'नेकपामा सेकेन्ड म्यान हुने गरी हाम्रै पक्षमा चाँडै खुल्नुहुनेछ।'
यसअघि पुष्पकमल दाहाल प्रचण्डले भेटेर आफ्नो पक्षमा आउन आग्रह गरेका थिए। प्रधानमन्त्री ओलीसँग पछिल्लो समय निकटता बनाइरहेका उनी 'पर्ख र हेर'को अवस्थामा थिए। प्रधानमन्त्री ओलीले संसद् विघटन गर्नु अघिल्लो दिन उनको क्वार्टरमै पुगेर भेटेका थिए।
बुधबार बादलले बालुवाटारमै पुगेर प्रधानमन्त्री ओलीसँग भेटेका थिए। उक्त भेटपछि बादलले आफ्नो कित्ता क्लिएर गरेका हुन्। निकटस्थ नेता कार्यकर्तासँग उनले ओलीतिर जाने संकेत समेत दिइसकेका छन्।
यसअघि नै ओली पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा सहभागी भइसकेका छन्।अब ओलीले बनाउने बैठकमा बादल पनि सहभागी हुने उनको सचिवालयले जनाएको छ।
बादललाई यसअघि उनीनिकट २४ केन्द्रीय सदस्यमध्ये २३ जनाले ओलीसँग नमिल्न सुझाव दिएका थिए। बादललाई साथ दिन सूर्यप्रकाश सुवेदीले मात्रै ओलीसँगै रहन सुझाव दिएका थिए।
लामो समय प्रचण्डलाई साथ दिएका बादलले उनलाई छोडेको यो दोस्रो पटक हो। यसअघि पनि बादलले २०६९ पार्टी विभाजन हुँदा मोहन वैद्य नेतृत्वको माओवादीमा सामेल भएका थिए। ४ वर्षपछि उनी पुनः प्रचण्ड नेतृत्वको पार्टीमा नै फर्किएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।