काडमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुराकानी गर्दै पार्टीमा कुन पक्ष लिने भन्नेबारे छिट्टै निर्णय लिने बताएका छन्। मन्त्रीनिवास पुल्चोक पुगेका कार्यकारी अध्यक्ष प्रचण्डसँग बादलले यस्तो बताएका हुन्।
उनले पार्टीमा कित्ता क्लियर गर्नका लागि थप केही दिन पर्खन प्रचण्डलाई आग्रह गरेका हुन्। पार्टीमा गम्भीर संकट पैदा भएको बताउँदै प्रचण्डले आफूलाई साथ दिन बादलसँग आग्रह गरेको बादलको सचिवालयले जानकारी दिएको छ।
बादललाई ओलीसँग मिल्न नहुने भन्दै सोमबार बिहान उनी निकट २४ केन्द्रीय सदस्यहरूले आग्रह गरेका थिए। गृहमन्त्री निवास पुल्चोक गएर उनी निकट नेताहरुले दबाब दिएका हुन्।
यस्तै बादलले ओलीलाई पनि आफ्नो कुरा राखेपछि मात्रै निर्णयमा पुग्ने बताएका छन्। उनले ओलीलाई भेटेर पार्टी विचार र सिद्धान्तलगायत आफू पक्षका नेताहरुको स्थिति के हुने भन्ने विषयमा समेत छलफल गर्ने बुझिएको छ। ओलीले चलाउने पार्टीमा जनताको बहुदलीय जनवाद विचार भए बादलले समर्थन गर्ने सम्भावना न्यून रहेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।