काठमाडौं- निवर्तमान ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तबारे सामाजिक सञ्जालमा अनर्गल प्रचार गरिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ।
पुनका स्वकीय सचिवसमेत रहेका नेकपा केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईं (सचिन)ले सामाजिक सञ्जाल फेसबुकमार्फत् आपत्ति जनाएका हुन्। चापागाईंले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमको विरोध गरेका कारण त्यसबाट डराएका केही पात्र र प्रवृत्तिले अनन्तले सामाजिक र राजनीतिक चरित्र हत्या गर्ने खराब मनसायले गलत प्रचार गरेको उल्लेख गरेका छन्।
आइतबार मन्त्री पदबाट राजीनामा दिएका पुन मन्त्रीनिवास छाडेर डेरा सर्ने क्रममा सरकारी सामान नलगिएको चापागाईंले स्पष्ट गरेका हुन्। चापागाईंले त्यस्तो गलत प्रचार गर्नेहरूमाथि कानूनी कारबाहीको प्रक्रियामा जानुपर्ने अवस्था आउन सक्ने चेतावनी पनि दिए।
‘मन्त्री निवास छाडेर डेरा सर्ने क्रममा कुनै सरकारी सामान नलगेको स्पष्ट गर्न चाहन्छु। प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध मन्त्रिपरिषद्मै र बाहिरसमेत प्रतिवाद गर्नुभएको र सोही कारण उहाँले मन्त्री पदबाट राजीनामा गर्नुभएको सर्वविदितै छ,' चापागाईंले भनेका छन्, ‘उहाँको कदमबाट डराएका प्रवृत्ति र पात्रहरुले उहाँको सामाजिक र राजनीतिक चरित्र हत्या गर्ने खराब मनसायले गरिएको प्रचारप्रति आपत्ति प्रकट गर्दछु। यदि यस्तै प्रचारका गलत दुस्प्रचार जारी रहे गलत प्रचारमा संलग्नहरुमाथि कानूनी उपचारमा जानुपर्ने अवस्थासमेत आउन सक्ने जानकारी गराउँदछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।