नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले आफू पार्टी एकताको पक्षमा रहेको बताएका छन्। आज नेपाललाइभसँग कुरा गर्दै उनले आफू कुनै पनि पक्षको भेलामा नजाने र जनताको पक्षमा के गर्दा राम्रो हुन्छ, त्यसैअनुसार निर्णय लिने बताए। नेता गजुरेलसँग गरेको संक्षिप्त कुराकानी :
तपाईं प्रचण्ड–नेपाल पक्षले आइतबार बोलाएको स्थायी कमिटी बैठकमा उपस्थित हुनुभएन, के ओली कित्तामा जानु भएको हो?
हिजो जिल्लातिरै थिएँ। म काठमाडौं ढिला आएँ। आउँदाआउँदै घटनाक्रम कता–कता मोडिइहाल्यो। त्यो भएर बैठकमा नपुगेको हो। अर्को मलाई प्रधानमन्त्रीसँग भेट्यो भन्या छन्। त्यो बेकार कुरा हो, भेटेको छैन। कसले लगाउँछ त्यस्तो झुटो कुरा।
त्यसो भए अब तपाईं कुन कित्तामा हुनुहुन्छ त?
म कुनै कित्तामा छैन। पार्टी एकताको पक्षमा छु। पार्टी नफुटोस् भन्ने चाहना हो।
आज फेरि प्रचण्ड–नेपाल पक्षले दिउँसो बोलाएको पूर्वसांसदको भेलामा जानुहुन्छ?
म अहिले दुवैतिरको भेलामा जान्नँ। म आफैं निर्णयमा पुगेको छैन। के गर्ने भन्ने विषयमा निर्णयमा पुग्नु प¥यो नि। अहिले कतैको भेलामा जाने तयारी छैन।
त्यसो भए सोचेर के गर्ने भन्ने विषयमा कित्ता ‘क्लियर’ गर्नुहुन्छ?
कित्ता क्लियरमात्रै होइन नि। अरु धेरै विषय छन्। विचार र राजनीतिक पक्षको विषयमा पनि नेता भएपछि साच्नु पर्ने हुन्छ । एउटा कित्तामा उभिए पनि कसरी एकताको पक्षमा उभिएको भन्ने हुन्छ? एकताको पक्षमा निस्वार्थढंगले भनेको हो। कुनै पनि कित्तामा नउभिएर लाग्या हो। दुवै पक्षसँग एकताको विषयमा कुरा भईराखेको हो।
पार्टी विभाजन नै हुने अवस्था आइसक्यो अब के गर्नुहुन्छ?
नेताहरुले पार्टी फुटाईहाले। पार्टी त फुटि नै सक्यो। बाँकी नै के छ र? घोषणा गर्नमात्रै बाँकी छ। दुई पक्षको अलग–अलग भेला भईसके। एउटा पक्ष बैठकमै आएन।
तपाईंले जुन कुरा उठाउनु भएको थियो, त्यसको औचित्य नै सकिएन र?
त्यसका लागि केही समय सोच्नु पर्ने भयो। हतारमा निर्णय गर्ने, पछुताउने गर्नु त भएन। सबै घटनाक्रमलाई हेरेर के गर्दा उपयुक्त हुन्छ, जनताको पक्षमा के गर्दा राम्रो हुन्छ त्यसअनुसार निर्णय लिन्छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।