काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ निकट २३ केन्द्रीय सदस्यहरुले यहीँ हालतमा अध्यक्ष केपी ओलीसँग मिलेर जान नसकिने बताएका छन्। बादललाई ओलीसँग नमिल्न दबाब दिन गएका उनीनिकट ३४ केन्द्रीय सदस्यमध्ये २३ जनाले ओलीसँगै जान नसकिने धारणा राखेका हुन्।
उक्त भेलामा स्थायी कमिटी सदस्यहरु देव गुरुङ तथा पम्फा भुसालसहित २४ केन्द्रीय सदस्य उपस्थित भएका थिए। उनीहरुमध्ये गृहमन्त्री बादलका प्रमुख राजनीतिक सल्लाहकार एवं केन्द्रीय सदस्य सूर्यप्रकाश सुवेदी‘ ‘पथिक’ बाहेक सबैले ओलीसँग मिल्न नसकिने धारणा राखेको एक केन्द्रीय सदस्यले बताए। ‘‘सूर्यजी बाहेक अरु सबै केन्द्रीय सदस्यको ओलीसँग मिलेर जान सकिँदैन भन्ने एउटै स्वर थियो। सूर्यजीले भने राजनीतिक रुपमा ओलीसँग जान सकिए पनि संसद विघटन गर्ने विषयमा असहमति प्रकट गर्नुभयो’ ती नेताले भने, ‘यदि बादल कमरेड प्रचण्डलाई छोडेर जानुभयोे भने उहाँसँग सूर्यजीबाहेक अरु कोही हुने स्थिति छैन।’
तर, बादलले हतारमा निर्णय गर्नु ठीक नहुने भन्दै ओली र प्रचण्ड दुवै जनालाई भेटेपछि निर्णयमा पुग्ने बताएको ती केन्द्रीय सदस्यले बताए। ‘तपाईंहरुले एक–एक गरी राखेको धारणा सुनेँ। त्यसलाई गम्भीर रुपमा मनन गरेको छु,’ बादलको भनाई उद्धृत गर्दै बैठकमा सहभागी एक सदस्यले भने, ‘म ओली र प्रचण्ड कमरेडसँग छलफल गर्छु, त्यसपछि निर्णयमा पुग्छु। तपाईंहरुले नै धारणा राखेबमोजिम निर्णय हुन्छ।’
पार्टीमा विचार र राजनीतिक आधारमा चल्ने भएकाले ओलीलाई साथ दिन नसकिने अधिकांश नेताहरुको धारणा रहेको केन्द्रीय सदस्य रामदीप आचार्यले बताए। बादलले सबै नेताहरुको धारणा सुनेर निर्णय लिने बताएको आचार्यले बताए।
यस्तै अर्का केन्दीय सदस्य लेखनाथ न्यौपानेले यथास्थिति र प्रतिगमनमध्ये यथास्थितिमै बसेर काम गर्न सजिलो हुने बताए। ओलीले संसद विघटन गरेपछि प्रतिगमन र प्रचण्डलाई यथास्थितिको संज्ञा दिदै न्यौपानेले प्रचण्डसँग मिलेर काम गर्ने बताए। ‘विचार मिलेपछि ओलीतिर जान नसक्ने भन्ने हुँदैन। घटना भएपछि समर्थन र विरोध हुन्छ नै, कसले कतिले गरे भन्ने मात्रै फरक कुरा हो। पार्टीमा कसको कस्तो चरित्र हो भन्ने सबै थाहा छ’ न्यौपानले भने, ‘क्रान्ति गर्ने वा छलाङ भन्ने कसैको छैन। प्रतिगमन र यस्थास्थितिको भन्ने छ। प्रतिगमनभन्दा यथास्थितिसँगै काम गर्न सजिलो हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।