काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेटेका छन्। बानेश्वरमा बोलाइएको भेलाअघि प्रचण्डले बादललाई मन्त्रीनिवासमै भेटेका हुन्।
दुवै नेताबीच छोटो कुराकानी भएको बताइएको छ। बादल आज बिहान डाकिएको केपी ओलीपक्षीय भेलामा पनि गएका थिएनन्।
यसअघि बादललाई अध्यक्ष केपी ओलीसँग नमिल्न पूर्वमाओवादीनिकट डेढ दर्जन केन्द्रीय सदस्यले दबाब दिएका छन्। ओलीसँग कुनै हालतमा मिल्न नसकिने भन्दै १६ केन्द्रीय सदस्य बादललाई फकाउन पुल्चोकमा भेला गरेका थिए। यसरी दबाब दिने नेताहरुमा स्थायी कमिटी सदस्यद्य देव गुरुङ र पम्फा भुसाललगायत थिए।
उनीहरुले आइतबारै बादललाई गृहमन्त्रीबाट राजीनामा दिन सुझाव दिएका थिए। तर उनले राजीनामा दिन आनाकानी गरेपछि भेटेरै दबाब दिएका हुन्। पार्टी विवादमा बाहिर हेर्दा पद लेनदेनको विषय जस्तो देखिए पनि त्यो वैचारिक लडाइँ भएकाले ओलीसँग मिलेर जान नसकिने बादलनिकट नेताहरुको भनाइ छ। बादलसँग ३४ जना केन्द्रीय सदस्यहरु छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।