काठमाडौं- प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपा स्थायी कमिटी बैठकले आफूलाई अनुशासनको कारबाही आफूलाई अमान्य भएको बताएका छन्। पार्टीका नेताहरूलाई बालुवाटारमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
'यस्ता कारबाही सिपी मैनाली र राधाकृष्ण मैनालीहरूले पनि मलाई २०२८ सालमा गरेका थिए। यस्ता कारबाहीको अर्थ छैन,' उनले भनेका छन्।
पार्टी भित्रैबाट हरेक काममा अवरोध भएपछि संसद विघटनका लागि सिफारिस गर्ने निर्णय गरेको पनि उनले प्रष्टीकरण दिएका छन्। अरु कुनै विकल्प नभएपछि ताजा जनादेश लिने निर्णय गरेको बताए।
आफूनिकट प्रतिनिधिसभाका सदस्यहको भेलामा ओलीले पार्टीका एकथरी नेताले जनादेश बिर्सेर सधैं असहयोग गरेको आरोप लगाए। विचार, संगठन र गन्तब्य सफल पार्न आफू सक्रिय रहेपनि अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल लगायतका नेताले अवरोध गरी विग्रहतिरको बाटोमा अग्रसर रहेको बताए।
संसद विघटनको बचाउ गर्दै उनले भने, ‘संसद् विघटन मेरो निजी रोजाई होइन, पार्टीको आन्दोलन र भविष्य जोगाउन अरु कुनै बिकल्प नभएपछि भारी मनका साथ ताजा जनादेशका लागि जनतामा जाने निर्णय गर्नु पर्यो।’
ओलीले जनताको मतबाट निर्णय लिने कदमलाई निरंकुश भनी कृत्रिम न्यारेटिभ खडा गर्ने प्रयास भएको बताए। ‘अप्ठेरोमा जनतासमक्ष जानुलाई निरंकुश कदम भन्ने न्यारेटिभ चलाइएको छ, त्यो गलत छ,’ प्रधानमन्त्री ओलीले भने, ‘जनताले जुन आदेश दिएर पठाएका थिए, त्यसलाई पूरा गर्न अवरोध खडा गरेपछि जनतामा जानु उच्च लोकतान्त्रिक कदम हो।’
जनतासँग सम्बन्धित विषयमा छलफल गर्न गर्न प्रचण्ड कहिल्यै पनि राजी नभएको बताउँदै ओलीले भने, ‘मेरा मान्छेलाई खोई, मलाई खोई, उधारो होइन हाताहाती चाहिन्छ भन्ने उहाँहरुको स्वार्थपूर्तिले घेरिनु पर्यो।’
आफूविरुद्ध अविश्वास प्रस्तावको हस्ताक्षर फर्जी र नक्कली भएको उनले दाबी गरे।
प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधिसभाका सदस्यहरुलाई निर्वाचन क्षेत्रमा केन्द्रित रहेर चुनावी तयारी गर्न समेत निर्देशन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।