ओलीपक्षीय भेलामा पहिलो लहरको सबैभन्दा बाँयातर्फ लेखराज भट्ट।
काठमाडौं–प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी ओलीले बोलाएको भेलामा पूर्व माओवादी समूहबाट स्थायी कमिटी सदस्य एवं उद्योगमन्त्री लेखराज भट्टमात्रै उपस्थित भएका छन्।
सुदूरपश्चिममा अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ ले एमाले समूहबाट स्थायी कमिटी सदस्य भीम रावललाई नजिक्याएपछि भट्ट प्रचण्डसँग बिच्किएका हुन्। केही समययता उनी प्रचण्डले बोलाएको भेला बहिस्कार गरी ओलीको भेलामा निरन्तर उपस्थित हुँदै आएका छन्।
यसअघि ओलीनिकट मानिएका सचिवालय सदस्य रामबहादुर थापा‘बादल’, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, मणि थापा र हरिबोल गजुरेल भने ओलीपक्षीय भेलामा अनुपस्थित भएका छन्। उनीहरु प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बोलाएको भेलामा जान्छन् कि जाँदैनन् भनेर महत्वका साथ हेरिएको छ। उता बादललाई ओलीसँग नमिल्न भन्दै उनी निकट नेताहरुले दबाब बढाएका छन्। बादललाई फकाउन उनी निकट नेताहरुले मन्त्रीनिवास पुल्चोकमा भेला गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।